
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्र निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारलाई आग्रह गरेका छन्।
प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सबैको साझा प्रयासको आवश्यकता औंल्याए।
उनले प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रूपमा काम गर्नसमेत आग्रह गरे। यस्तै, उनले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरे।
जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिस्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधँै तयार रहेको उनले बताए।
उनले पत्रकारको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत–साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन दिए।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका उनले जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ध्येयसाथ बेला–बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसविरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
युद्धको जटिलताबीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको पक्षमा प्रतिबद्ध भएर कलम चलाउनुका साथै गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिए।
कृष्णसेन इच्छुकजस्ता सहिदको बलिदानले स्थापित भएको संगठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उल्लेख गरे।