
बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध विधिसम्मत नरहेको बताएका छन्।
एमाले दलका नेता शंकर पोखरेलले सांसदहरु विमला खत्री र अजय शाहीको दलीय संलग्नताबारे टुंगो नलाग्दासम्म सदन चल्न नदिने बताएको भोलिपल्ट संसदमा बोल्दै मुख्यमन्त्री केसीले एमालेको माग संविधान र विधिसम्मत नरहेको बताए।
उनले सर्वोच्चमा विचाराधीन रहेको मुद्दालाई लिएर प्रदेश सभाको बैठक चल्न नदिएर एमालेले अलोकतान्त्रिक अभ्यास गर्न खोजेको बताए।
उनले प्रश्न गरे, ‘आफैले सर्वोच्चमा मुद्दा दिने अनि त्यसको निरुपण प्रदेश सभाबाट हुनुपर्छ भनेर संसद अवरोध गर्ने कस्तो शैली हो?’
उनले एमालेले संसदमा उठाएको कुरामा सर्वोच्चको फैसला नै अन्तिम हुने बताए।
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री पोखरेलले आइतबारको प्रदेशसभाले सांसदलाई कुन दलको भनेर निर्धारण गर्न नपाउने भनाइ राखेका थिए। त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री केसीले भने, ‘सर्वोच्च अदालतको फैसला जे रहन्छ, त्यो नै सबैलाई मान्य रहने मुलुकको परम्परा छ, संविधान बमोजिम नै हुन्छ भन्ने कुरा संसदीय व्यवस्था वा सभाको मर्यादाको रुपमा आत्मसाथ गर्नैपर्छ।’
मुख्यमन्त्री केसीले एमालेले संसदीय मर्यादा र अभ्यास विपरीत सरकार र संसद चलाएको स्मरण गराउँदै गठबन्धन सरकारलाई संस्कार सिकाउन नसुहाउने बताए।
‘को सांसद कुन दलको हो भन्ने कुरा त एमालेले पनि हेक्का राख्नुपर्थ्यो,’ उनले भने, ‘जसपा पार्टीको आधिकारिकता एक ठाउँमा छ। अनधिकृत मान्छेलाई पार्टीसम्म बनाइदिएर आफूले के संस्कार बसालियो भनेर समीक्षा गर्नुपर्छ कि पर्दैन? यो यही प्रदेशको इतिहास हो, जो मान्छे बोक्नुभएको थियो। उहाँहरु अहिले कानूनी र दलीय रुपले पनि त्यो हैसियतमा हुनुहुन्न। यतिसम्म अराजनीतिक हर्कत गर्दासम्म गठबन्धनमा रहेको एउटा शक्तिले त्यसलाई सामना गर्यो नि, अनि अहिले उहाँहरुकै कारण सिर्जना भएको परिस्थितिको दोष हामीलाई दिएर हुन्छ?’
पूर्ववर्ती सरकारले संसद छलेर बजेट ल्याउनेदेखि संसदीय मर्यादा र पद्धतिलाई मिचेर अल्पमतमै रहेको बेला सरकारमा रहेको कुरा नबिर्सिनसमेत उनले एमालेलाई आग्रह गरे।
‘आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा पराजित हुने डरले सभा छोडेर हिँडेर नकारात्मक इतिहास जसले रच्यो उसैले नैतिकताका कुरा गर्न कति सुहाउँछ?,’ मुख्यमन्त्री केसीले भने, ‘आफूले गाईजात्रा देखाएर संस्कार सिकाउने, आफू नाच्न नजान्ने आँगन टेढो भन्छन्, त्यस्तै भयो।’
उनले सरकारले प्रतिपक्षी दल एमालेलाई साथमै लिएर अघि बढ्न खोजेपनि एजेन्डाविहीन भएपछि सदनमा अवरोध कायमै राखेर काम गर्न नदिएको बताए।
सोमबारको पहिलो बैठकमा अवरोध गरेपछि दोश्रो बैठक बहिस्कार गरेको एमालेलाई वार्ताका माध्यमबाट सहमतिमा आउन उनले आह्वान गरे। उनले जनताले चुनेर पठाएको बैठक बहिस्कार गरेर अलोकतान्त्रिक चरित्र नदेखाउन एमालेलाई आग्रह गरे।
लगातार एमालेको अवरोध भएपछि प्रदेश सभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ।