
काठमाडौँ – काठमाडाैँकाे कागेश्वरी मनहरामा पानीको बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ।
कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजारनजिकै बुधबार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको थियो।
बुधबार दिउँसो १२ बजेबाट ग्यास निस्किएको स्थानीयले बताएका छन्। सुरुको ४ घण्टा तीव्र गतिमा सुक्खा ग्यास मात्र निस्किएकामा साँझ ४ बजेदेखि हिलोसमेत निस्किएको छ। ग्याससँग निस्किएको हिलो र ढुंगा आसपासका घरमा पुगेपछि स्थानीय त्रसित बनेका छन्।
ग्यास निस्किएको सम्बन्धमा सुरक्षाकर्मीलाई तत्कालै खबर गरिए पनि नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको स्थानीयले गुनासो गरेका छन्। भूगर्भ विभागबाट प्रतिनिधि आए पनि कुनै प्रतिक्रिया नदिई आफैँ ग्यास नियन्त्रण हुन्छ भन्दै फर्किएको स्थानीयले बताए।
बोरिङ खन्दा ग्यास निस्किएपछि दिउँसो आसपासको १ किमि क्षेत्रमा धुलो फैलिएको थियो भने साँझमा निस्किन थालेको हिलो र ढुंगा नजिकका घरमा झरेर फोहोर बनाएको छ।