
काठमाडौँ – नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ। ड्रिम हाई नेपालले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो। मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालको भनाइ छ।
‘सेलिब्रेटिङ विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चालनमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिने बताइएको छ।
मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेता घोषणा गरिनेछ।