
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने घोषणा गरेका छन्।
उनले भने, ‘यो महाधिवेशनपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ। एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ। एमाले अब हिँड्दैन, दौडिन्छ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरी अघि बढिने पनि विश्वास दिलाए।
उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढी स्थानीय तहमा जित्ने संकल्पसाथ हामी फर्किन्छौं। अर्को वर्ष मंसिरमा हुने आमनिर्वाचन प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ। यो महाधिवेशनसँगै एमाले सरकारमा कमब्याक हुनेछ। सरकारमा एमालेको कमब्याक हुन्छ–हुन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाए।
उनले भने, ‘यसपटक पार्टीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने हो। हामी त्यहीअनुसार अघि बढेका छौं। यदि सर्वसम्मत भएन भने पार्टीमा नेतृत्वमा प्रतिस्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरामा महाधिवेशनमा २२ सय प्रतिनिधिमध्ये हरेकलाई प्रतिस्पर्धा गर्ने छुट छ। हरेकले त्यो अधिकार प्रयोग गर्न पाउनुहुन्छ। यो विधानतः अधिकारप्राप्त छ। तर, हाम्रो मिसन भनेको एमालेमा यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने हो। सहमतिमार्फत नेतृत्व चयन हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु।’
उनले सहमति नभए हरेक मान्छेले आफूले चाहेको पदमा उठ्न पाउने बताए। उनले भने, ‘हाम्रो पार्टीमा रहेका सबैको सम्मानजनक उपस्थिति र जिम्मेवारी हुन्छ।’ यद्यपि उनले आफू कुन पदमा उठ्ने भनेर अहिल्यै भन्न भने हतार हुने टिप्पणी गरे।
उनले भने, ‘अहिल्यै हतार गरेर मलाई यो पद देऊ भन्न मिल्दैन। सर्वसम्मत गर्दा सहमतिले यो पदमा बस्नुहोस् भन्न सकिन्छ, मैले अहिले नै यो पदमा उम्मेदवारी घोषणा गरेँ भन्न मिल्दैन। म अहिले पनि सचिव त छँदै छु। माथि जाने इच्छा लाग्यो भने मलाई स्वतन्त्रता छ। लड्न सक्छु। होइन, अहिले तपाईं सचिवमै बसेर काम गर्नुहोस् भन्नुभयो भने पनि ठीकै छ। सचिवबाट हट्नुहोस् भने पनि म खुला छु। नेतृत्व सर्वसम्मत हुँदा केपी ओली नै अध्यक्ष हो। नेतृत्वमा सहमति भएन भने कसैले पनि उम्मेदवारी दिन सक्छ, अब पार्टीमा गुट–उपगुट हुँदैन।’
उनले आगामी महाधिवेशनले पार्टीभित्रका सबैखाले तिक्तता कम गर्ने दाबी गरे। उनले अबको एक मात्र लक्ष्य भनेको सूर्य चिह्नको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए।
उनले भने, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउन मात्रै बहुमत मागेको होइन। देशको समस्यालाई हटाउँदै समाजवादमा पु¥याउने लक्ष्य हो। यो कसले गर्न सक्छ त भन्दा एमालेले मात्रै गर्न सक्छ। त्यसको संकल्प महाधिवेशनले गर्छ।’
उनले यसपटक चुनावको पूर्वसन्ध्यामा पार्टीको महाधिवेशन गर्न लागेको र पार्टी विभाजन भएको अवस्था भएकाले महाधिवेशनमार्फत एमलेले जनतासामु आफ्नो वर्चश्व प्रस्तुत गर्न खोजिरहेको पनि सुनाए।
उनले भने, ‘महाधिवेशनमा खर्च हुन्छ तर एमालेले कसैसँग चन्दा लिँदैन। जति पनि पैसा कलेक्सन गर्दै छौं, पार्टीका संगठित सदस्यबाट संकलन गरेका छौं, पार्टी सदस्यताबाट एक सय रुपैयाँको दरले उठाउँदा पनि साढे ८ करोड जम्मा हुन्छ। यो महाधिवेशनमा करिब ७ करोड खर्च हुन्छ। एक सयको क्याम्पेनबाट साढे ८ करोड उठाउँछौं। कसैलाई दबाब दिएका छैनौं।’
उनले एमालेमा सबै युवा रहेको सुनाए। उनले देशको आमनिर्वाचन प्रणाली नै महँगो भयो भन्ने विषयप्रति पार्टीको गम्भीर ध्यान गएको भन्दै यस विषयमा पनि महाधिवेशनमा बृहत् छलफल गरिने र यसको विकल्प खोज्ने विश्वास दिलाए।
उनले ५ लाखभन्दा बढी जनसमुदायको उपस्थितिमा महाधिवेशन गरिने जनाए। उनले भने, ‘त्यसका लागि देशव्यापी रूपमा तयारी भइसकेको छ। यो महाधिवेशनबाट आगामी पाँच वर्षका निम्ति एमालेको नेतृत्व चयन गर्दै छौँ। आज विभिन्न सञ्चारमाध्यममा एमालेको नेतृत्व कस्तो हुन्छ? कसले नेतृत्व गर्छ भनेर बहस भइरहेको छ। एमाले एमालेलाई हाँक्ने दल मात्रै होइन, आफ्नो सदस्यको मात्रै दल होइन, यो राष्ट्रिय दल हो।
मुलुक हाँक्न सक्ने नेताहरू भएको दल हो। पार्टीमा एकपछि अर्को योग्य नेता हुनुहुन्छ। लामो अनुभवप्राप्त नेता छन्। जनपरिचालन गर्न सक्ने, संगठन बनाउन सक्ने अनि कार्यकर्तालाई शिक्षित बनाउन सक्ने, अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक सम्बन्ध राख्न सक्ने भिजन भएका नेताहरूको दर्जनौं पंक्ति एमालेसँग छ।’
उनले एमालेमा नेताको खाँचो र खडेरी नभएको पनि टिप्पणी गरे। उनले भने, ‘एमालेमा एक सय एक नेता छन्। नेपाली समाजलाई नेतृत्व गर्न सक्ने एमाले नै हो। सबै दललाई समेत अगुवाइ गर्न सक्ने नेतृत्वदायी पार्टी भनेकै एमाले हो। यसको नेतृत्व हो। एमालेको अगुवाइमा यो देशमा माओवादी केन्द्रको १० वर्षे सशस्त्र द्वन्द्व व्यवस्थापन भयो। एमालेले नै संविधान निर्माणको अगुवाइ गर्यो।’
उनले एमालेले अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो छवि बनाएको दाबी गरे।
उनले भने, ‘हामीले हाम्रो सरकार भएका बेला भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्यौं। भारतसँग पनि हामीले सुमधुर सम्बन्ध राख्यौं, विदेश नीतिको सवालमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको छ। एमालेको आउने महाधिवेशनले पार्टीले हिजो बनाएको इतिहास र विरासत थाम्न सक्ने, सबै दल र आमजनसमुदायलाई अगुवाइ गर्न सक्ने, विश्व समुदायसँग नेपालको सम्बन्ध सन्तुलित राख्ने र समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई नेतृत्व गर्न सक्ने, त्यस्तो नेतृत्व यो महाधिवेशनबाट हामी अगाडि ल्याउनेछौं।’
उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चुनौतीको रूपमा दर्ज गरे।
उनले भने, ‘थोरै सानो संख्यामा भए पनि साथीहरूले अलग समूह बनाउनुभयो। हामी सरकारबाट प्रतिपक्षमा छौं। फेरि पनि एमालेलाई विशाल पार्टीमा रुपान्तरण गर्नु, पार्टी विभाजन गरेर गएका साथीहरूलाई पुनः पार्टीमा फर्काउनु, देशभरिका कम्युनिष्टलाई एमालेमा गोलबन्द गर्नु, स्थानीय र संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्नु ठूला चुनौती हुन्। यी चुनौती बोक्न सक्ने नेतृत्व हामीले यो महाधिवेशनबाट पाउनेछौं।’
आज एमालेमाथि चौतर्फी हमला भएका छन्, आक्रामण भइरहेका छन्। हाम्रो पार्टीविरुद्ध तथाकथित गठबन्धन बनाइएको छ। त्यसैले यो महाधिवेशनमार्फत हामी एमालेको वर्चश्व कायम गर्न, शक्ति र सत्तामा फर्काउन सर्वसम्मत नेतृत्व चयन गर्छौं।’
भट्टराईले अहिले ९० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको पनि सुनाए। उनले अध्यक्षलगायत पदाधिकारी, केन्द्रीय कमिटी सबै सहमतिसाथ निर्माण गर्न सकिने विश्वास दिलाए।
उनले भने, ‘यो हाम्रो आत्मविश्वास हो। अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा हामी त्यो दिशामा अघि बढिरहेका छौं। अहिले अध्यक्षज्यूसँग आवश्यक छलफल र परामर्शमा छौं। प्रतिनिधिसँग पनि छलफल गर्छौं। एमालेले एकताबद्ध भएर नेतृत्व चयन गर्छ।’
उनले अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी प्रतिनिधिको छनोट भइसकेको र आज–भोलिभित्रै सबै प्रतिनिधिको छनोट हुने जानकारी दिए।
उनले भने, ‘अहिले केन्द्रीय कार्यालयमार्फत आवश्यक रुजु गरिरहेका छौं। अन्तिम स्वीकृति भएपछि प्रतिनिधिको परिचयपत्र बन्छ।’
उनले महाधिवेशनस्थल चितवन भएको सुनाउँदै महाधिवेशनको उद्घाटनस्थल नारायणी नदीको फाँट रहेको सुनाए।
उनले भने, ‘आजसम्म नेपालमा कसैले नबनाएको भव्य र आकर्षक मञ्च हाम्रो महाधिवेशनमा हुनेछ। जहाँ हाम्रा विदेशी पाहुना, केन्द्रीय कमिटीलाई राख्नेगरी मञ्च बनाउँछौं। नेपालको राष्ट्रिय गानको धुनलाई ७२ जना कलाकारले एकसाथ गाउन सक्ने गरी बनाएका छौं।’
उनले नेपालमा यो यति धेरै कलाकारको सामूहिक प्रस्तुति दिन मिल्ने गरी अहिलेसम्म कुनै स्टेज र कुनै पार्टीले यस्तो कार्यक्रम नगरेको भन्दै यसपटकको एमालेको महाधिवेशनमा त्यो सम्भव हुने बताए।
उनले भने, ‘उद्घाटन सत्रमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत हुनेछ। बन्दसत्रको हल पनि भव्य हुनेछ। चितवनको सौरहामा ३५ सय बेड बुकिङ गरिएको छ। २२ सय प्रतिनिधिलगायत महाधिवेशनमा खटिने सबै स्वयंसेवक राखिनेछ। महाधिवेशनस्थलमै सामूहिक खाना खाने व्यवस्था गरिएको छ।’ उनले मंसिर ११ गते बिहानै बन्दसत्र सुरु गरिने जनाए।
उनले भने, ‘अध्यक्ष मण्डल गठन हुनेछ। अध्यक्षको सम्बोधन हुनेछ। १२ गते बिहान ८ बजेटबाट मतदान हुनेछ। बेलुकासम्म मतगणना हुनेछ। १३ गते बिहानबाट एकताको सन्देश बोकेर हाम्रा साथीहरू देशभरि फर्किनुहुनेछ। अहिले महाधिवेशनका लागि प्रचारलाई तीव्रता बनाइएको छ। एमालेले यसपटक पोष्टर टाँस्दैन। भित्तामा कुनै नारा लेख्दैन। आम हिसाबले सोसल मिडियामार्फत प्रचार अघि बढाउँछौं। डिजिटल माध्यम प्रयोग गर्छौं। देशभरिका होर्डिङ बोर्डमा एमालेका सन्देश राख्न थाल्छौं। एमालेको आधिकारिक फेसबुक पेज, वेबसाइट, आधिकारिक सोसल मिडिया, नेताहरूको सोसल मिडिया पनि महाधिवेशनका प्रचार सामग्रीले भरिभराउ छन्। सौरहाका पर्यटन व्यवसायीमा अहिले रक्तसञ्चार भएको छ। होटल व्यवसायी उत्साही हुनुहुन्छ। यो एमालेको महाधिवेशन देशलाई नै दिशादिर्नेश गर्ने महाधिवेशन हो। आमजनताको सकारात्मक चासो पाएका छौं। शुभेच्छा पाएका छौं।’