
काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहितको आर्थिक, सामाजिक रुपान्तरण, समुन्नत र समृद्ध नेपाल निर्माण रहेको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित ग्लोबल युथ लिडरसिप समिट २०२१ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको अबको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहितको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण रहेको बताए।
उनले नेपालको प्राकृतिक सौन्दर्य पर्यटकलाई देखाउन चाहेको भन्दै विभिन्न धर्मावलम्बीका आस्थाका केन्द्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न खोजिरहेको बताए।
उनले सरकार देशभित्रका नदीनालाबाट जलविद्युत् उत्पादन गरेर निर्यात गर्न, कृषिलगायत क्षेत्रमा आत्मनिर्भर बन्दै औद्योगिक विकासमार्फत युवाका लागि रोजगार सिर्जना गर्न खोजिरहेको बताए। युवाका साझा समस्यालाई साझा ढंगले नै समाधान गर्नुपर्ने उनको भनाइ थियो।
उपराष्ट्रपति पुनले भने, ‘युवाका साझा समस्यालाई साझा ढंगले समाधान गरौँ। समस्या र चुनौतीको पहिचान र समाधानका लागि सहकार्यलाई अघि बढाऔँ।’
उनले भोलिको विश्व, मानव जातिका आगामी दिन र देशको विकास कसरी गर्ने र हुने भन्नेबारे युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
उनले मानव जातिमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाकै काँधमा रहेको बताउँदै जलवायु परिवर्तको असरलाई न्यूनीकरण कसरी गर्ने र विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्व व्यवस्थापन कसरी गर्ने? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाइमा उठाउने भन्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने बताए।
उपराष्ट्रपति पुनले भने, ‘भोलिको विश्व कस्तो हुनेछ, मानव जातिका आगामी दिन कस्ता हुनेछन् र देशको विकास कसरी हुनेछ? यी तमाम विषयबारे सोच्नुपर्ने र कसरी अघि बढ्नुपर्छ र मानव जातिमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाकै काँधमा छ। जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्ने? विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वको व्यवस्थापन कसरी गर्ने? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाइमा उठाउने यी तमाम विषय युवाहरूकै काँधमा छ। यी सबै क्षेत्रमा युवाको नेतृत्व आवश्यक छ।’
उपराष्ट्रपति पुनले मानव जातिको कल्याण र सभ्य तथा आदर्श समाज निर्माणका लागि उत्कृष्ट योगदान दिन युवाहरू लागिपर्ने विश्वास लिएको बताए। मानव जातिलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ–नयाँ खोज, आविष्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवा नै भएको भन्दै उनले युवाको जोश, सुजबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएको बताए।