
बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले विवादमा तानिएको मोतीपुर औद्योगिक क्षेत्रका कारण कसैलाई विस्थापित गर्न बाध्य नपार्ने बताएका छन्।
मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा स्थानीयलाई विस्थापित नगराउने उनले बताए।
आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए।
उनले स्थानीयलाई विस्थापित नगरी औद्योगिक क्षेत्र निर्माण गर्ने बताए। उनले स्थानीयले उपयोग गरिरहेको क्षेत्र छाडेर बाँकी रहेको क्षेत्रमा मात्रै औद्योगिक क्षेत्र बनाउने गरी काम अघि बढाउनका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए।
मोतीपुर औद्योगिक क्षेत्रका लागि छुट्याइएको जमीनमा अतिक्रमण भएपछि प्रहरीको गोली लागेर असोज अन्तिम साता ४ जनाको मृत्यु भएको थियो। शिलान्यासकै समयदेखि विवाद र विरोध देखिएको मोतीपुर क्षेत्रमा करीब २ हजारभन्दा बढी घरधुरी बसोबास गरिरहेका छन्।
औद्योगिक क्षेत्र बनाउने भनिएको २ सयभन्दा बढी बिगाहा जमीन स्थानीयले जोतभोग गर्दै आएको क्षेत्रमा परेपछि स्थानीय आन्दोलित हुँदै आएका छन्।
स्थानीयको मागलाई वेवास्ता गर्दै एमाले नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले विरोधका बीच शिलान्यास गरेपछि स्थानीयले ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए। विरोधका बीच शिलान्यास भएपनि निर्माणको काम अघि बढेको थिएन।