
बुटवल– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ। विवाद भएपछि रूपन्देही ३ मा निर्वाचन स्थगित भएको छ।
निर्वाचन क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएको हो भने विवादका कारण निर्वाचन क्षेत्र नं. ३ मा निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए। ३ नम्बर क्षेत्र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो।
यसअघि प्रदेश सभा अन्तर्गतको क्षेत्रिय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्षले संस्थापन इतरका उमेदवार शैलेश पन्त घाइते भएका थिए। सोही घटनाका कारण विवाद हुँदा सोमबार निर्वाचन हुन सकेन।
रूपन्देहीमा सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए। त्यस्तैगरी रुपन्देहीको क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएका छन्।
क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। यादवको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत घिमिरेले बताए। उनका अनुसार निर्वाचन क्षेत्र नं. १ र २ मा मतदान जारी छ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन्।
क्षेत्र नम्बर १ अन्तर्गत देवदहमा मतदान जारी छ। क्षेत्र नम्बर २ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा होमिएका छन्।
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका अधिकांश प्रदेशसभा सदस्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि लिएर लुम्बिनी प्रदेश सरकारमा सामेल काँग्रेसका मन्त्रीहरु पनि क्षेत्रीय अधिवेशन अन्तर्गत विभिन्न पदमा उम्मेदवार बनेका छन्।
काँग्रेसका प्रदेशसभा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका वसिउद्दीन खाँ, सांसदहरू अष्टभुजा पाठक, फकरुद्दीन खाँ, रमा अर्याल, पुष्पा थरुनी, उम्मेदवार बनेका छन्। निर्वाचन जारी रहेका सबै क्षेत्रमा दुईवटा प्यानल बनेर चुनावी मैदानमा छन्।