
काठमाडौँ – सरकारले एसिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ।
सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एसिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो।
सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ। सम्मेलनमा जुम मिटिङबाट सहभागिता जनाउन सकिनेछ भने भौतिक रूपमा उपस्थित हुन चाहनेहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ।
सम्मेलनको उद्घाटन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने भएकी छन् भने आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यबारे छलफल हुनेछ।
सबै सत्रमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्न भावी रणनीतिबारे छलफल गरिने गैसस महासंघ नेपाल तथा आवास पुनःस्थापना तथा पुनर्निर्माण समन्वय मञ्च (एचआरआरपी) का राष्ट्रिय संयोजक मिनार थापा मगरले जानकारी दिए। उनले सम्मेलनमा दीर्घकालीन पुनर्लाभसम्बन्धी छलफल गरिने बताउँदै सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवाससम्बन्धी कार्य गर्ने अध्येता एवं संघसंस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने बताए।
उनले भने, ‘सबै सत्रमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्न भावी रणनीतिबारे छलफल गरिनेछ, सम्मेलनमा दीर्घकालीन पुनर्लाभसम्बन्धी छलफल गरिनेछ, सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवाससम्बन्धी कार्य गर्ने अध्येता एवं संघसंस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्नेछ, यसले विभिन्न देशमा भइरहेका विपद्का समस्या साटासाट गर्ने थलोको रूपमा लिन सकिन्छ, त्यहाँ कसरी काम भयो ? एसियामा केही विपद आए कसरी समाधान गर्ने, तत्काल कसरी वासको समस्या हटाउने भन्नेबारे चासो राख्ने गर्छ।’
राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताए। सम्मेलन मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।