
काठमाडौँ – कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता हुने भएको छ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषय राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरी कार्यगत एकता गर्ने घोषणा गरेका हुन्।
कार्यक्रममा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए।
उनले भने, ‘अहिले यो देशमा एमसीसीको आवश्यकता छैन। अब सबै जना बुद्धिजीवी, वामपन्थी, देशभक्त एकै ठाउँमा आएर देशलाई पार लगाउनुपर्छ। देश रह्यो भने मात्र तपाईंहरूले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्र भने अफगानिस्तानमा अमेरिकी सेनाले आतंक मच्चाएझँै नेपालमा पनि आतंक मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आमदाजुभाइ दिदिबहिनीहरूलाई एकढिक्का हुन आग्रह गर्दछु।’
देशभक्तवादी दुई पार्टीबीच एमसीसीविरुद्ध र देशका समयसामयिक विषयका लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए।
उनले एमसीसीविरुद्ध र देशका समसामयिक विषयमा उनले मंसिर ४ गते शनिबार काठमाडौंको खुलामञ्चमा विशाल जनसभा आयोजना सम्पन्न भएको पनि जानकारी दिए।
त्यस्तै, जनसमाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आइपुगेको स्मरण गराए।
उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए। अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाइ थियो।
सामन्त दलाल, भ्रष्टाचारी, तस्करलाई मात्र परिवर्तन महसुस गरेको उनले आरोप लगाए। ‘दलालहरूसँग उनीहरूको साँठगाँठ भइरहेको छ, पैसा कुम्ल्याएका छन्, आगामी चुनावका निम्ति नेताहरूले पैसा जम्मा गरिराखेका छन्,’ उनले भने, ‘जनतामा आधारभूत तहमा कुनै पनि परिवर्तन भएको छैन र संसदीय व्यवस्था असफल भएको छ। देशलाई कर्पोरेटहरूले सञ्चालन गरिरहेका छन्।’
कार्यक्रम सञ्चालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले राष्ट्रवादीबीच कार्यगत घोषणा गर्न लागेको बताए। नेपाली जनताको अवस्था अझै पनि जस्ताको तस्तै रहेको भन्दै उनले अहिलेको व्यवस्था असफल भइसकेको बताए।
उनले भने, ‘देश बनाउने हो भने युवा अगाडि बढ्नुपर्छ। हाम्रो साथ तपार्इंहरूलाई छ ।’ उनले आफ्ना साथीहरू धेरै जना सहिद भएको स्मरण गराउँदै जनताको अगाडि मुख देखाउनै लाज लागेको उनले बताए।
माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्रीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि हालको व्यवस्था ठीक नभएको र वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक रहेको जिकिर गरे। सबै मिलेर दलाल, राष्ट्रघाती र भ्रष्टाचारीलाई बढार्नुपर्ने उनको भनाइ थियो।