
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो।
सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुधबार गरेका छन्।
त्यस अवसरमा मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बतए।
मन्त्री आलेले पटक–पटक आफैँले निर्देशन दिँदासमेत यात्रु लुट्ने क्रम जारी रहेपछि सटल बसको व्यवस्था गर्र्नुपरेको स्पष्ट पारे। विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दा पनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनको भनाइ छ।
बस सेवा छोटो समयका लागि नभई दीर्घकालीन रुपमै सञ्चालन गरिने मन्त्री आलेले जानकारी दिए। उनले भने, ‘सटल बस सञ्चालनमा ल्याइनुअघि तीन पटकभन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिएँ। तैपनि ठगी रोकिएन।’ ठगी नरोकिएपछि सरकारले नै यात्रुको सुविधाका लागि सटल बस सञ्चालनमा ल्याइएको उनले बताए।
उनले भने, ‘यसरी ठगी बढ्दै जाँदा काठमाडौंमा पढ्ने विद्यार्थी घर बिदाबाट फर्किंदा रासनपानी बोकेर आएका छन्। जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन्। म आफैँ पनि कोटेश्वरसम्म जाँदा डेढ/दुई हजार तिर्न बाध्य भएको थिएँ। यही लुट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो।’
पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परे विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गरे। उनले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको महँगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीले भने अटेर गरेको बताए।
त्यस्तै, बुधबारबाटै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटनमन्त्री आलेले उद्घाटन गरेका छन्। उनले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए।
नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर उनीहरूका लागि राज्यबाट विदेश जानसमेत कुनै सुविधा प्रदान नगरेको बताए।
उनले भने, ‘विश्राम घर वैदेशिक रोजगारीमा जाने यात्रु विदेश जानुअघि टर्मिनलबाहिर उभिनुपर्ने बाध्यता हटाउन बनाइएको हो। नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीले विदेशी मुलुकको ४० देखि ५० डिग्रीमा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउनुहुन्छ। तर, राज्यले कुनै सोव–सुविधा दिन सकेको छैन। त्यसैले कम्तीमा विदेशबाट आउँदा र जाँदा सुविधाले विश्राम गरेर जान पाउने व्यवस्थाका लागि यो काम गरिएको हो।’
तत्कालका लागि २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाउने योजना रहेको उनले बताए।
अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउनेछन्। सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डेन गेटसम्म यात्रुलाई सेवा दिनेछ।