
बुटवल – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन भैरहवामा हुँदैछ।
प्रदेश अधिवेशनको कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम छ। साथै पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।
भैरहवास्थित महेन्द्र सभागृहमा हुने प्रदेश अधिवेशनमा कांग्रेसमा प्रस्ट देखिएका दुई समूह प्यानल तयार भएरै चुनावमा जाने संकेत देखिएको छ। पार्टी नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षले उम्मेदवारको टुंगो लगाउन बाँकी छ।
लुम्बिनी प्रदेशमा तुलनात्मक हिसाबले बलियो देखिएको पौडेल पक्षले सभापतिमा रोल्पाका अमरसिंह पुनलाई अघि सारेको छ। यस्तै उपसभापतिमा रुपन्देहीका अष्टभूजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यलाई अघि सारिएको छ।
प्रदेश सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु खनाल मुस्कान र महिलातर्फ प्यूठानकी नीमा गिरीलाई अघि सारिएको छ।
देउवा पक्षबाट भरत शाहले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्। अरु पदमा पनि नेताहरुले आकांक्षा व्यक्त गरेका छन्। देउवा पक्षबाट उपसभापति र महामन्त्रीमा दाबी गर्ने नेताहरु धेरै छन्। बाँकेका सुरेन्द्र हमाल, दाङका राजु खनाल, रुपन्देहीका विनोद ढकालले उपसभापति र महामन्त्रीमध्ये एक पदको दाबी गरेका छन्। रुपन्देहीका सन्तराम चौधरी र गुल्मीका छन्दबहादुर पहराईले पनि पदाधिकारीमा दाबी गरेका छन्।
लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीका अनुसार तीनदिन हुने प्रदेश अधिवेशनमा १६ गते उद्घाटन, १७ गते उम्मेदवारी दर्ता र १८ तथा १९ गते कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ। प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एकहजार ५८५ जनाले प्रादेशिक अधिवेशनमा मतदान गर्नेछन्।
एक लाख ३१ हजार १७१ क्रियाशील सदस्य रहेको लुम्बिनी प्रदेशको अधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधिमूलक सहभागिता रहने कांग्रेसले जनाएको छ। लुम्बिनी प्रदेशबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्रीमा १ महिलासहित ३ जना चुनिनेछ।
सदस्यहरुमा १२ जिल्लाबाट एक महिलासहित २४ जना, खुल्लामा ५ महिलासहित १७ जना, खस आर्य ४ महिलासहित ८ जना, आदिवासी जनजाति २ महिलासहित ५ जना, मधेसी २ महिलासहित ४ जना, दलित २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम एक महिलासहित २ जना, अल्पसंख्यक र अपाङबाट एकजना गरी पदाधिकारीसहित ७७ जना चुनिनेछन्।