
काठमाडौँ – एथलेटिक्स परिवार नेपालको आयोजनामा हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।
राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बताएको हो। सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने च्याम्पियनसिपमा छात्र–छात्रातर्फ यु–१६ मा १२ इभेन्टस र यु–२० तर्फ १६ इभेन्ट्स गरी कुल २८ ट्र्याक र फिल्ड इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ।
जसका लागि बंगलादेशका १२ खेलाडी पनि प्रतिस्पर्धा गर्न नेपाल आएको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए।
च्याम्पियनसिपमा ५ महिला र ७ पुरुष गरी बंगलादेशका १२ खेलाडीले भाग लिनेछन्। अध्यक्ष खत्रीले भुटान र भारतलगायतको देशबाट आउने भए पनि कोरोनाका कारण आउन नसकेको बताए।
च्याम्पियनसिप सोमबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको एथलेटिक्स ट्र्याकमा हुनेछ। च्याम्पियनसिपमा छात्र र छात्रातर्फ यू १६, यू–२० उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियसिपमा यू–१६ का १२ र यू–२० का १६ गरी २८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
छात्र–छात्रा यू–१६ मा ६० मिटर, १ सय मिटर, ८ सय मिटर, सटपुट थ्रो, लङजम्प र ४ गुणा सय रिलेको प्रतिस्पर्धा हुनेछ। त्यस्तै, छात्र–छात्रा यू २० मा सय मिटर, ४ सय मिटर, ८ सय मिटर, ३ हजार मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ४ गुणा सय मिटर रिले दौडमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा विभिन्न जिल्लाका स्कुल, कलेज, विभागीयसहित २ सय ५० भन्दा बढी एथलिटले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ।
सोही अवसरमा एथलेटिक्स संघका पूर्वअध्यक्ष, ओलम्पियन तथा प्रशिक्षक रघुराज वन्तले उदीयमान एथलिट विर्सना कुमाललाई एक सेट स्पाइक सुज प्रदान गरे। २१ वर्षीय विर्सना नेपाल पुलिस क्लबमा आबद्ध छिन्।