
बुटवल– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अघि बढाउने बताएका छन्।
रुपन्देहीको भैरहवामा कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेता समेत रहेका खाँणले हजारौं नेपालीले नागरिकता नपाएर पीडा भोगिरहेको बताए।
उनले नागरिकता विधेयकलाई परिस्कृत गरेर सदनबाट पास गर्ने तयारीमा सरकार रहेको बताए। नेता खाँणले एमालेले संसद चल्न नदिँदा विधेयक अघि बढाउन नसकेको बताए।
उनले मुलुकको भविष्यबारे नेपाली कांग्रेसमात्रै चिन्तित रहेको भन्दै कांग्रेसले मात्रै देश चलाउन, बनाउन र जोगाउन सक्ने बताए। उनले मुलुकलाई अरु समृद्ध बनाउनका लागि पार्टीप्रति रहेको जनविश्वास र भरोसालाई कायम राख्दै अघि बढ्नुपर्ने बताए।
पार्टीबाट लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गर्ने जिम्मा पाएका खाँणले प्रदेश सभापतिमा एकपक्षीय समर्थन समेत सो अवसरमा गरेका थिए।
पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने उनले पार्टी सभापतिमा आफ्नै समूहका भरतकुमार शाहलाई सर्वसम्मत बनाउन आह्वान गरे।
उनले सबै पक्षको चित्त बुझाएर सहमतिका आधारमा नयाँ नेतृत्व चयन हुने बताए। लुम्बिनी प्रदेश सभापतिमा पार्टी नेता रामचन्द्र पौडेल समूहका अमर पुनले प्यानल नै तयार पारेर प्रचारप्रसार गर्दै आएका छन्।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले महाधिवेशनले पूरानो पुस्तालाई बिदा गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।
कार्यक्रममा केन्द्रिय सदस्य पुष्पा भुसाल, किशोर सिंह राठौर, देवेन्द्र राज कँडेल, सार्वजिक लेखा समितिका सभापति भरत शाह, रुपन्देही सभापति रामकृष्ण खाँण लगायतले बोल्दै पार्टीलाई थप उर्जाशील बनाउनुपर्ने बताए।
बिहीबार सुरु भएको प्रदेश अधिवेशन भैरहवाको महेन्द्र सभागृहमा चल्ने छ। शुक्रबार बिहान ८ बजेदेखि उम्मेदवारको मनोनयनसँगै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ।
लुम्बिनी प्रदेशमा महाधिवेशन र प्रदेश प्रतिनिधि गरी १ हजार ५ सय ८५ जना मतदाता छन्।