
धुलाबारी – मेचीनगर नगरपालिका ९ मागुरमाडीका युवा कृषक डिल्लीराज उप्रेतीले एक कठ्ठा जग्गामा निर्माण गरेको हाइटेक नर्सरीमा दुई महिनाको अवधिमा डेढ क्विन्टल साग उत्पादन भएको छ।
उनको घरमा साग किन्न आउने मान्छेको घुईंचो लाग्न थालेको छ। तर एक सिजनको उत्पादन बजारमा विक्री गरिसकिएको उनले बताए।
उनले भने, ‘यसमा उत्पादन यति छिटो हुन्छ भन्ने मैले पनि सोचेको थिइन।’
विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लागेका उप्रेतीले मेचीनगरकै पहिलो हाइटेक नर्सरी तयार गरेका हुन्। गत वैशाख १४ गतेदेखि उक्त नर्सरी सञ्चालनमा आएको हो।
हाइटेक नसरी पूर्ण रुपमा वातानुकूलित छ। नर्सरीभित्र बर्षैभरि खेती गर्न सकिने उप्रेतीले बताए।
२ सय माइक्रोनको युबी प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने गरि बनाइएको छ। नर्सरी भित्रै थोपा सिञ्चाइको व्यवस्था छ भने विशेष प्रकारले ब्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने व्यवस्था समेत गरिएको छ।
बिरुवामा रोग किरा लाग्न नदिनका लागि हावापानी आउँदा समेत असर नगर्ने र लेउ नलाग्ने व्यवस्था गरिएको छ। बाहिरबाट कुनै हानीकारक जीवाणु प्रवेश नगरोस् भन्नाका लागि नर्सरीमा दुईवटा हाइटेक ढोकाको ब्यवस्था गरिएको छ। बाहिरी मानिसहरुले सजिलै प्रवेश नगरुन् भनेर नर्सरीको ढोकामा ताला लगाउने व्यवस्था समेत गरिएको छ।
दश बर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमिनसँग जोडिएको भागमा बिशेष प्रकारको एप्रोनको व्यवस्था गरिएको छ। जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजनलाई नियन्त्रण गर्ने उप्रेतीले जानकारी दिए।