
बुटवल – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा कमजोर देखिएका छन् ।
निर्वाचन सम्पन्न गर्न लुम्बिनी प्रदेशको जिम्मा पाएका खाँण आफै गुटको प्रचारप्रसारमा खटिएपनि उनले समर्थन गरेको प्यानलका एक पदाधिकारीबाहेक अधिकांशमा हार बेहो¥यो।
लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजामा पनि कांग्रेस केन्द्रीय सदस्य रहेका खाँण कमजोर देखिए।
लुम्बिनी प्रदेशका २ जिल्लामा मात्रै सभापति जितेको देउवापक्षले प्रदेशमा पनि नराम्रो हार बेहो¥यो। प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ। बाँके जिल्लाको अधिवेशन भएको छैन। लुम्बिनी प्रदेश अधिवेशनमा एकजना उपसभापतिबाहेक अन्य सबै पौडेल पक्षले जितेको छ।
कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भए। देउवा समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गरेका छन्। ८५ मतको अन्तरमा पुन निर्वाचित भएका हुन्।
पदाधिकारीमा एक उपसभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ। उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी भएका छन्। खनाल भने देउवानिकट मानिन्छन्।
यसअघि भएका अरू जिल्ला, क्षेत्रका निर्वाचनमा पनि खाँणनिकटहरू पराजित भएका थिए। प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका थिए।
गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाण समूहको प्यानल नै पराजित भएको थियो।
सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए।
२०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उनी समानुपातिकमा बसेका थिए। रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उनी समानुपातिकमा बसेका थिए।