खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीसँग अन्तर्वार्ता

‘कसैले एउटा पनि लाइफ ज्याकेट नपाउने, कसैले तीन–तीन वटा?’ (भिडियो)

+
-

कोरोना भाइरसको संक्रमण रोकथामका लागि विश्वभर कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरिएको थियो। विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुँदै गर्दा विश्व स्वास्थ्य संगठनले हरेक देशका १० प्रतिशतभन्दा बढी जनसंख्याले कोरोना भाइरसविरुद्ध खोप लगाइसकेपछि मात्र बुस्टर डोज दिने योजना बनाएको छ। खोपको पूर्ण मात्रा लगाइसकेको धेरै देशहरुले बुस्टर डोज दिन थालिसकेका छन् भने कतिपय तयारीमै छन्।

नेपालमा भने बुस्टर डोजका बारेमा अहिले नै सरकारले कुनै पनि निर्णय नगरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ नोभेम्बरमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेसँगै नेपालमा फेरि एक पटक बुस्टर डोजको चर्चा चल्न थालेको छ। चैत अन्तिमसम्म लक्षित समूहलाई खोप लगाइसक्ने सरकारले योजना बनाए पनि पछिल्लो समय यो योजना तुहिने अवस्थामा पुगेको छ।

सरकारले हालसम्म करिव ५० प्रतिशतलाई पहिलो खोप लगाएको छ भने करिब ४० प्रतिशलाई दोस्रो मात्रा खोप लगाएको छ।

यस्ते रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) पनि ६५ वर्ष माथिकाले पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि बुस्टर खोप लगाउन अनुमति दिइसकेको छ। सीडीसीले सबैभन्दा पहिले खोप लगाएका र कोभिडको उच्च जोखिममा रहेकाले बुस्टर डोज लगाउन सकिने उल्लेख गरेको छ।

नेपालमा पहिलो प्राथमिकतामा परेकाहरूले खोपको दोस्रो मात्रा लगाएको ८ महिना भयो। यो हिसाबले उनीहरुले कोभिड खोप लगाएका धेरैले बुस्टर डोज लगाउने समायवधि नाघिसकेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समयअघि गरेको एक अध्ययनमा खोप लगाएको ६० दिनसम्म एन्टीबडी विकास हुँदै गएको र त्यसपछि भने घट्दै जाने देखाएको थियो।

खोप लगाएकाहरुमा एन्टिबडी घट्दै गए पनि अहिले सरकार बुस्टर डोज दिन सक्ने अवस्थामा छैन। लक्षित समूहलाई खोप नलगाउन हम्मेहम्मे भइरहेको सरकारले बुस्टर डोजका बारेमा के योजना बनाइरहेको छ? बुस्टर डोज लगाउनै परे पनि कुन समूहलाई प्राथामिकतामा राखिएको छ? यही विषयमा केन्द्रित भएर खोप सम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीसँग गरिएको कुराकानीः

के हो बुस्टर डोज?

बुस्टर डोज भनेको कुनै पनि खोपहरु जसलाइ प्राइमरी सिरिज भनिन्छ, जुन सुरुमा कति मात्रा दिँदा ठिक हिसाबले रोगसँग लड्ने क्षमता पुग्छ।

जस्तो उदाहरणको लागि डिपिटी खोपको पहिलो, दोस्रो र तेस्रोमा दिएपछि त्यसलाई प्राइमरी भनिन्छ। तीन वटा खोप सुरुमा दिनुपर्ने हुन्छ। तीन मात्रा दिइसकेपछि एन्टिबडी जुन बन्छ, त्यो घट्दै–घट्दै जान्छ।

त्यसकारणले कसैलाई ५ वर्षमा कसैलाई १० वर्षमा खोपको मात्रा थप गर्नु पर्ने हुन्छ। हो, यस्तै थप मात्रालाई बुस्टर डोज भन्ने गरिन्छ।

अहिले फेरि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै बुस्टर डोजको चर्चा चलिरहेको छ। कतिपय देशहरुले बुस्टर डोज दिन सुरु गरिसकेका पनि छन्। यो अवस्थामा बुस्टर डोज कति आवश्यक छ?

नयाँ भेरियन्टका बारेमा अध्ययनहरु आउने क्रममै छन्। केही आइसकेका छन् जसमा भेरोसिल, कोभिशिल्डको दुई मात्रा लगाइसकेपछि तीन महिना वा ६ महिनापछि एन्टिबडी घट्दै गयो भन्ने कुराहरु आइरहेका छन्।

सामान्यतया: एन्टिबडी घट्नुको मतलब रोगसँग लड्ने क्षमता कम हुनु हो। एन्टिबडी घटेको अवस्थामा थप मात्रा दिनुपर्ने हुन्छ।

विश्व स्वास्थ्य संगठनले अध्ययन गरेर सिफारिस गरेको छ, कुनै पनि इम्युनो कम्प्रोमाइज (जुन व्यक्तिसँग रोगसँग लड्ने क्षमता कम छ) भएका विरामीको अवस्थामा दुई मात्रा दिइसकेकालाई अझै एक मात्रा खोप थपेर दिनुपर्ने भन्ने सिफारिस आएको छ।

त्यस्तै अर्को चाइनिज खोप ‘साईनोफाम’ हामीले दुई–दुई मात्रा दिएकालाई पनि ६० वर्षमाथि उमेरकालाई त्यहाँ पनि एक मात्रा थप गरेर खोप दिनु पर्ने सिरफारिस आएको हो।

यसलाई बुस्टर भन्दा पनि थप मात्रा भनिन्छ।

यसको मतलब कोभिडको खोप इम्युनो कम्प्रोमाइज र ६० वर्ष माथिकालाई तीन मात्रा दिएपछि पहिलो आधारभूत खोप पुरा हुन्छ।

विश्व स्वास्थ्य संगठनले पनि खोपको थप मात्रा दिनु भनेर सिफारिस गर्दै गर्दा तपाईहरु यसको बारेमा के योजना बनाइरहनु भएको छ? तपाई त खोप सल्लाहकार समितिको संयोजक पनि हुनुहुन्छ, नेपालमा थप खोपको आवश्यक्ता कति देख्नु भएको छ?

सुरुमा जुन हिसाबले खोपको राष्ट्रिय योजना बन्यो, त्यसमा के भनेका छौँ भने जति बढी उमेर हुन्छ, संक्रमित भएपछि उति नै मृत्यु हुने खतरा हुन्छ। अति नै सिकिस्त हुने सम्भाबना बढी हुन्छ। र, अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेर जान्छ।

त्यसबेला हामीले खोपको उपलब्धता हेरेर जति उमेर बढी छ, त्यहाँबाट खोप लगाउन सुरु गरेर १८ वर्षसम्मकालाई खोप दिने योजना बनेको थियो। त्यही योजना अनुसार करिब ५० प्रतिशत खोप पाएको अवस्था छ। यसमा पनि करिब ३४/३५ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन्।

लक्षित गरिएका निकै नै व्यक्तिहरुलाई खोप दिन बाँकी नै छ। अहिले पनि सरकारको प्राथामिक्ता केमा हुनु पर्छ भने १८ वर्ष माथिका व्यक्तिलाई अधिकतम खोप दिनुपर्छ। उनीहरुलाई खोप दिइसकेपछि बालबालिकाहरुका लागि सोचौँ।  र त्यसपछि मात्रै थप खोपका लागि सोच्नु पर्ने देखिन्छ।

त्यसैले अहिले पनि पहिलो प्राथामिक्ता भनेको थप खोप भन्दा पनि लक्षित गरेको समूहलाई नै समावेश गर्नु हो।

सरकारले चैत अन्तिमसम्ममा खोप लगाइसक्ने घोषणा गरेको छ। तर अहिले खोप अभियान सुस्ताएको जस्तो पनि देखिएको छ। खोप अभियान यही गतिमा अगाडि बढ्ने हो भने सरकारले लक्षित समूहलाई चैतसम्ममा खोप लगाइसक्ला?

खोपको उपलब्धताको समस्या छैन। अब हामीले खोप लगाउनबाट छुटेका वा लगाउन नआएका व्यक्तिलाई खोप कसरी उनीहरुलाई समेटेर खोप दिन्छौँ भन्ने कुरा हो।

यही रफ्तारमा खोप लगाउने हो भने चैतसम्ममा खोप लगाइसक्न गाह्रो होला। हामीले खोप सुरु गर्यौँ, सुरु–सुरुमा बुझेका मान्छे, जसले खोपको महत्व बुझेका थिए, रोगको खतरा कति हुन्छ भन्ने बुझेका थिए, उनीहरुले सहजै खोप लगाए।

अबको समूह भनेको द्विविधामा हेको समूह हो। खोप लगाउँ कि नलगाउँ वाला समूह छ। अर्को भनेको मलाई केही पनि हुँदैन, म खोप लगाउँदिन भन्ने समूह छ। यी समूहलाई हामीले खोप लगाउनका लागि उत्प्रेरणा गरेनौँ भने खोप लगाउने दर बढ्दैन।

त्यसैले खोपको माग बढ्ने कार्यक्रम आउन जरुरी छ। जुन समूह, जुन जाति, जुन क्षेत्रमा खोप लगाउन कम भएको छ, त्यसलाई लक्षित गरेर त्यो ठाउँमा स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्छ। राजनीतिक दल, स्थानीय तहलाई ओनरसिप दिनु पर्ने हुन सक्छ।

अर्को भनेको खोप दिने केन्द्रहरु बढाउनु पर्ने देखिएको छ। जति धेरै खोप केन्द्र भए उति नै खोप लिनेहरुलाई सजिलो हुन्छ। र, उनीहरु खोप लगाउनका लागि खोप केन्द्रमा पुग्छन्।

त्यसैले पहुँच बढाउनु पर्‍यो। र खोप लगाउन नचाहने समूहलाई लक्षित कार्यक्रमहरु गर्न सकिन्छ।

पहिलाको तुलनामा अहिले खोप लगाउनेको संख्या बढेको होइन र? सुरुमा खोप अभियान संचालन हुँदै गर्दा मानिसमा खोपलाई लिएर डराइरहेका थिए भने दोस्रो लहर पछि खोप प्रतिको धारणा परिर्वतण भई खोप लगाउन पाए हुन्थ्यो भन्नेहरुको जमाछ धेरै देखिन्छ, होइन?

सुरुमा नयाँ खोपमा मानिसहरु डराएकै हो। त्यही बेला नेपालमा दोस्रो लहर पनि आयो। खोपको इतिहासमा कुनै पनि रोगले मृत्यु भएको देखिन्छ। सिकिस्त भएर अस्पताल भर्ना भएको देख्छन्, त्यसैले मानिसहरुलाई खोप लगाउन उत्प्रेरण गर्छ। यो कोभिडको मात्र नभएर कुनै पनि रोगमा यस्तो देखिन्छ।

अहिले पनि जुन किसिमले खोप केन्द्रमा खोपको माग हुनु पर्ने हो, त्यो किसिमले माग भएको देखिँदैन। अहिले पनि धेरै जिल्लाहरुमा खोपको कभरेज कम छ। यसै पनि हेर्दा ५० प्रतिशत अझै खोप दिनै बाँकी छ। लक्षित गरिएका १८ वर्ष भन्दा माथिकामा मात्रै पनि।

उसो भए लक्षित समूहलाई खोप दिइसकेपछि मात्रै थप खोप दिने योजनामा छ, सरकार?

प्राथमिकता भनेको जहाँ जोखिम छ, त्यहाँ जाने हो। त्यो प्राथमिकतालाई छोड्न मिल्दैन। तर खोप उपलब्ध हुँदै जाँदा प्रशस्त खोप हुन्छ भने थप मात्रातिर पनि सोच्नु पर्ने हुन्छ। किनभने अहिले जति पनि खोप आएको छ, त्यसको म्याद एकदम कम हुन्छ।

१८ वर्ष भन्दा माथिकोलाई पनि दिन नसकेर खोप खपत हुन नसक्ने अवस्थामा म्याद सक्काएर राख्नु भन्दा त्यसलाई बुस्टरका लागि दिन सकिन्छ। तर अझै पनि जोखिम समूहलाई प्राथमिकतामा पार्नुपर्छ।

बुस्टर खोप लगाउनु परेमा पहिलो र दास्रो मात्रा जुन खोप लगाएको हो, त्यही लगाउनु पर्छ वा अन्य जुन खोप लगाउँदा पनि हुन्छ?

‘मिक्स र म्याक्स’ भनिन्छ। यो विषयमा धेरै अध्ययनहरु भएका छन्। धेरै देशहरुमा मिक्स गर्ने कुराहरु पनि आइरहेका छन्। नेपालमा हामीले जुन खोपको दुई मात्रा लगाएको हो, बुस्टर पनि त्यही मात्रा। जस्तो ६० वर्ष भन्दा माथिका व्यक्तिले भेरोसेलको दुई मात्रा लगाएका छन् भने उनले बुस्टर लगाउँदा त्यही लगाउनु पर्छ। अर्थात तेस्रो मात्रा पनि भेरोसेल नै दिनु पर्ने हुन्छ। कोभिसिल्ड हो भने त्यही दिनु पर्छ।

अहिलेसम्मको सिफारिस यही हो। अध्ययन हुँदै छ। पछि गएर मिक्स पनि हुन सक्छ। यस्तो भएको खण्डमा नेपालमा पनि मिक्स गर्ने बारे सोचिएला।

पूर्ण मात्रामा खोप लगाइसकेकाहरु फेरि खोप केन्द्रमा गएर थप खोप लगाइरहेको पनि छन् नि?

सुरुमा खोपको महत्व बुझेकाहरुले खोप लगाइसकेका छन्। त्यही समूह अहिले तेस्रो मात्राको लागि लागिपरेको देखिएको छ। विभिन्न तरिकाले लगाएको पनि चर्चामा आएको छ।

कसैले एउटा पनि लाइफ ज्याकेट नपाउने कसैले तीन–तीन वटा पाउने? जोखिमका हिसाबले सबैले दुई मात्रा पाउनु पर्नेमा जोड दिनु पर्छ। यसका सथै खोप उपलब्ध भयो भने हामीले प्राथामिक्ताको आधारमा बुस्टर डोज अथवा थप मात्रा दिँदै जाने कुरा हो।

खोप लगाउने संयन्त्रमा सरकार कहाँ चुकिरहेको छ?

हामीसँग खोप केन्द्र कम छन्। काठमाडौँ जहाँ ५० लाख जनसंख्या छ, त्यहाँ जम्मा १०/१५ वटा खोप केन्द्रबाट कसरी सम्भव हुन्छ? हामीले विगतमा दादुरा खोप अभियान चलाएका थियौँ, त्यो बेला हामीले ४०/५० हजार खोप केन्द्रबाट खोप दिएका थियौँ। जति नजिक खोप केन्द्र भयो, उति नै धेरै मानिसहरुलाई खोप लगाउन मन लाग्छ। उनीहरुलाई सजिलो हुन्छ।

त्यसैले खोप केन्द्र नै बढाउनु पर्ने हुन्छ। र अर्को खोप नलगाएका, लगाउन नचाहने वा दोधारमा रहेकाहरुलाई खोप लगाउनु पर्छ। खोप लगाएपछि सुरक्षित भइन्छ, भन्ने जानकारी बढी गराउनु पर्ने हुन्छ। नभए उनीहरु खोप लगाउन आउँदैनन्।

उसो भए जनचेतनाको कमी र संयन्त्र नभएका कारण खोप खपत नभएको हो?

होइन। संयन्त्र छ, प्रयोग नगरिएको हो। किनभने प्रत्येक गाउँमा महिला स्वास्थ्य स्वयम् सेविका छन्। उनीहरुले नियमित खोपमा प्रत्येक घरघरमा गएर कुनै बच्चा खोप लगाउन छुटेको छ छैन भनेर ट्र्याकिङ गर्ने सिस्टम थियो।

त्यस्तै गरेर कोभिडको लागि पनि प्रत्येक टोल अथवा घरमा गएर खोप लगाएका छन् या छैनन्, खोप लगाउन हिच्किचाइरहेकाहरुलाई सुझाव दिने र खोप केन्द्रसम्म ल्याउनका लागि मद्दत गर्ने गर्न सकिन्छ।

हामीसँग टोलटोलमा ६० हजार महिला स्वयम्‌सेविका छन्। पहिलो नम्बरमा उनीहरुलाई प्रभावकारी हिसावले परिचालन गर्नुपर्‍यो। स्थानीय स्तरमा स्थानीय सरकार पनि सक्रिय हुनपर्‍यो। स्थानिय सरकार अन्तर्गत कुन वडा, कुन समूहमा, कुन टोलमा खोपको कभरेज घटेको छ, उनीहरुलाई कस्तो किसिमको सहयोग चाहिन्छ, कसरी उनीहरुको जनचेतना बढाउने कार्यक्रम भएपछि बल्ल प्रत्येक मानिसहरु आफैँ उत्प्रेरित भएर खोप लिन आउँछन्।

खोपको पहुँच पनि बढाउनु पर्‍यो। केन्द्र बढाउनु पर्‍यो। अर्को कुरा खोपको महत्वबारे जानकारी गराएर खोप लगाउनु पर्छ भन्नेमा नगरिकलाई जागरण गराउनु पर्छ।

आजको दिनसम्म करिब १ करोड ९० लाख मात्रा खोप मात्रै गएको छ। त्यो मध्ये ५० प्रतिशतको हाराहारीमा मात्रै पहिलो मात्रा लगाएका छन्। र, ४० प्रतिशतको हाराहारीमा दुई मात्रा लगाइरहेका छन्। बाँकी अरु सुतिरहेको छ।

कोरोना भाइरसविरुद्धको खोपको नेपालमा कस्तो प्रभावकारीता देखियो भन्ने केही अनुसन्धान भएको छ?

खोपको प्रभावकारितामा हामीले कुनै पनि वैज्ञानिक अध्ययन गरेका छैनौँ। तर अस्पतालमा भर्ना भएका कोभिडका विरामी धेरै जसो खोप नलगाएका भेटिएका छन्। सिकिस्त हुने पनि र मृत्यु हुने पनि अधिकांश खोप नलगाएकै रहेका छन्। हामीले हेर्दा खोप लगाएपछि संक्रमित भए पनि सामान्य भएर आफै निको भएको पाइएको छ। अहिले हेर्ने भनेको प्रभावकारिता हो।

अहिलेसम्म नेपालमा कोभिडकै खोपका कारण कुनै पनि व्यक्तिमा गम्भीर असर देखिएको पाइएको छैन। सामान्य किसिमको असर हुन्छ नै। त्यो आफै निको भएर जान्छ।

अहिलेको नयाँ भेरियन्टले खोप नलगाएकालाई बढी असर गर्ने हो?

जति चाडो हामीले खोपको कभरेज बढायौँ, भाइरसको ट्रान्समिसन कम हुन्छ। यदि खोपको कभरेज कम भयो र धेरै मानिसले खोप लगाएनन् भने भाइरस बढेर जान्छ। एउटाबाट अर्कोमा अर्कोबाट अर्को–अर्को भएर जान्छ। जति सर्दै गयो उति नयाँ भेरियन्ट बन्ने सम्भावना हुन्छ। त्यसकारण हामीले नयाँ भेरियन्ट बन्न रोक्नका लागि जतिसक्दो चाँडो लक्षित समूहमा खोप दिनु पर्ने हुन्छ। अहिलेको डर भनेको त्यही हो। ५० प्रतिशत नागरिकले खोप लगाएका छैनन् भने त्यहाँ ट्रान्समिसन हुन्छ। भाइरस म्यूटेसन भइरहन्छ। त्यसले गर्दा खोपको कवरेज बढाउनु अत्यन्तै महत्वपूर्ण छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?