
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारी राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताए। राजनीतिक परिवर्तनलाई जोगाउन क्रान्तिका पक्षधर शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
कम्युनिष्ट पार्टीबीच एकता भए मात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनले उल्लेख गरे।
‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन। प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारी अहिले पनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन्। त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्ति एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहीँ–कतै हामीले रिल्याक्स गर्ने स्थिति छैन’, उनले भने, ‘हामीले पूरै मिहिनेतसाथ अगाडि जानु छ। त्यसको निम्ति कम्युनिष्टबीचको एकता सबभन्दा ठूलो कुरा हो। इमान्दार कम्युनिष्ट क्रान्तिकारीबीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भूमिका खेल्न सक्छ। त्यसको नेतृत्वअन्तर्गत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिलाई हामीले गोलबन्द गर्न सके मात्र प्रतिक्रान्तिको आँधी–हुरी रोक्न सकिन्छ। र, क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ।’
उनले अवसरवादी पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेको शिला खोज्दै हिँडेको टिप्पणी गरे। उनले आफ्नो पार्टीमा मानिसको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिँदै लोहारको एक चोटको संज्ञा दिए।
उनले भने, ‘हुन त अवसरवादी अहिले गाउँ गाउँमा केही मान्छेको शिला खोज्दै हिँड्ने गर् या’छन्। तपाईंहरूले देख्नुभयो होला। पार्टी प्रवेशका नाउँमा भन्दै गाउँगाउँतिर शिला खोज्दै छन्। यो एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने, कम्युनिष्ट आन्दोलनलाई विघटन र विसर्जन गर्न चाहने अवसरवादी, विधेसी प्रतिक्रियावादीको अगाडि आत्मसमर्पण गर्ने तत्वलाई एउटा चुनौती हामी यो हलबाट दिन चाहन्छौँ। तिमीहरूको षड्यन्त्र चल्ने छैन। नेपालका जनता, नेपालका क्रान्तिकारी कम्युनिस्ट सचेत छन् र सबैखाले चुनौती सामना गर्न तयार छन्। यो सन्देश यहाँबाट आज देशभरि र विश्वभरि प्रवाहित भएको छ।’
अध्यक्ष दाहालले नेकपा (एमाले)ले धाक दिँदै हिँडेको भन्दै आगामी निर्वाचनमा उनीहरूको हालत जनताले देखाउने टिप्पणी गरे। उनले भने, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ। के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो। ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो। अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन्। उनीहरू त्यो धाक, धम्की मात्रै हो। आगामी निर्वाचनमा देखिनेछ। कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउनेछन्।’
उनले गठबन्धनका राजनीतिक दल र दलका नेतासँग आफूहरूको कुनै पनि प्रकारको वैरभाव नरहेको बताए। माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको उनले जानकारी दिए।
उनले भने, ‘कुनै गठबन्धनका नेता र पार्टीसँग हाम्रो कसैसँग कुनै वैरभाव छैन। बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ। र, हाम्रो तर्फबाट त्यसका निम्ति लगातार प्रयास भएको छ। रहिरहनेछ। हाम्रो आजको यो एकीकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनै पनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर विश्वास व्यक्त गर्न चाहन्छु।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको हो। नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका छन्।