
बुटवल – आगामी २२ माघदेखि बुटवलमा बी लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
लाफा समूह बुटवलको आयोजनामा दुई दिनसम्म हुने प्रतियोगितामा लुम्बिनी प्रदेशसहित चितवन, मकवानपुर, कास्कीलगायतका जिल्लाबाट खेलाडीहरू सहभागी हुने छन्। यस वर्ष एक सय ६५ बढी टिम सहभागी हुने कार्यक्रम संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए।
खुलातर्फ ११५ तथा भेट्रान्सतर्फ ५० बढी टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फका विजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्।
यसैगरी, उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी तथा उदीयमान खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको समूहका संरक्षक वासुदेव लामिछाने मगरले जानकारी दिए।
त्यस्तै भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार ५५५ रहेको छ। प्रतियोगितामा सहभागिताका लागि खुलातर्फ २५ सय प्रवेश शुल्क र भेट्रान्सतर्फ दुई हजार प्रवेश शुल्क राखिएको लामिछानेले जानकारी दिए।
प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च अनुमान गरिएको समूहका अध्यक्ष तारा रेश्मीमगरले बताए। खेलप्रेमी र विभिन्न संघसंस्थाहरूको सहयोगबाट प्रतियोगिता गर्न लागिएको उनले बताए।
लगातार तीन वर्षसम्म राष्ट्रिय लेभलको ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको समूहले यस वर्ष स्थानीयस्तरका खेलाडी उत्पादन गर्न बी लेभलको प्रतियोगिता आयोजना गर्न लागेको रेश्मीमगरले बताए। प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा समेत टेवा पुग्ने उनले बताए।
समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स खरिद, अनाथ (वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। समूहले भदौ महिनामा बी लेभल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ।
पटक– पटक पनि स्थानीय तहसँग हल निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरे पनि जग्गा नपाउँदा निजी कभर्डहल लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समूहका पूर्वअध्यक्ष केशव रानाले गुनासो गरे। समूहमा हाल एक सय ७५ भन्दा बढी सदस्यहरूले दैनिक रूपमा ब्याडमिन्टन खेल्दै आएका छन्।