चैतदेखि बन्द भक्तपुर तलेजु कहिले खुल्छ?

चैतदेखि बन्द भक्तपुर तलेजु कहिले खुल्छ?
+
-

भक्तपुर – कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र भएपछि गत चैतमा बन्द गरिएको भक्तपुर तलेजु अहिलेसम्म सर्वसाधारणको लागि खुला गरिएको छैन। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भन्दै बन्द गरिएको नौ महिना बितिसक्दा पनि भक्तपुर तलेजुमा सर्वसाधारणले प्रवेश पाएका छैनन्। सर्वसाधारणलाई तलेजु प्रवेशमा रोक लगाउन मुख्य प्रवेशद्वार स्वर्णद्वारमा लगाइएको डोरीसमेत निकालिएको छैन।

भक्तपुर पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु तलेजुभित्र जान छुटाउँदैनन्। तर भक्तपुर दरबार क्षेत्रको केन्द्रमा रहेको तलेजुभित्र जान नपाउँदा पर्यटकहरु आक्रोशित भएर फर्कने गरेका छन्। तलेजुमा नेपाली सेनाले सुरक्षा पहरा दिँदै आएको छ। सुरक्षा पहरामा बस्ने सैनिक अधिकारीहरुले नै सर्वसाधारण तथा पर्यटकहरुलाई तलेजु प्रवेशमा रोक लगाउँदै आएका छन्। जसले गर्दा तलेजु प्रवेश गर्ने मुख्य प्रवेशद्वार स्वर्णद्वारमा पालो पहरामा बस्ने सैनिक अधिकारी र सर्वसाधारण तथा पर्यटकहरुबीच दैनिकजसो गलफती हुँदै आएको छ।

सर्वसाधारण तथा पर्यटकहरुले काठमाडौँ र ललितपुर दरबार क्षेत्र तथा त्यहाँका तलेजु एवं संग्रहालय क्षेत्र खुलिसक्दा पनि भक्तपुर तलेजु किन नखुलेको भन्दै गुनासो गर्छन्। अझ दरबार क्षेत्रमै रहेको राष्ट्रिय कला संग्रहालयसमेत सर्वसाधारणको लागि खुलिसकेको छ। उक्त संग्रहालय पुरातत्व विभागअन्तर्गत रहेको छ। भक्तपुर तलेजु पनि पुरातत्व विभागअन्तर्गतकै हो। संग्रहालय खुल्ने तर तलेजु आगमछेँ चै सर्वसाधारणको लागि किन बन्द? सबैले यही प्रश्न गरेर हैरान बनाएको सैनिक अधिकारीहरु बताउँछन्।

सैनिक अधिकारीहरुले सम्बन्धित निकायले तलेजु सर्वसाधारणको लागि खुला भएको जानकारी नदिँदा आफूहरुले मात्रै तलेजुमा प्रवेश दिन नसक्ने बताउँदै आएका छन्। त्यस्तै भक्तपुर नगरपालिकालाई १५ अमेरिकी डलर अथवा एकहजार पाँच सय नेपाली रुपैयाँ तिरेर भक्तपुर सहर प्रवेश गरेका बाह्य पर्यटकहरुले समेत भक्तपुर तलेजु प्रवेश नपाएको गुनासो गर्ने गरेको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले बताउँछन्।

भक्तपुर तलेजु प्रवेश नपाएका पर्यटकहरुले पथप्रदर्शकहरुलाई समेत आक्रोश पोख्ने गरेको उनले सुनाए। ‘सबै ठाउँमा खुला छ, भक्तपुर तलेजुमात्रै किन बन्द? भनेर पर्यटकहरुले आक्रोश पोख्ने गरेको पथप्रदर्शकहरुले गुनासो गरेका छन्’, अध्यक्ष भेलेले भने, ‘पर्यटकले पनि हामीलाई नै भन्ने, पथप्रदर्शकले पनि हामीलाई नै तलेजु किन बन्द भन्ने हुँदाहुँदा सर्वसाधारणले पनि हामीलाई नै गुनासो गर्न थालिसके।’

तलेजु सर्वसाधारणको लागि खुला गर्न भक्तपुर नगरपालिकाको ध्यानाकर्षण गर्दा नपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्दैन भन्ने प्रतिक्रिया दिएर पन्छिँदै आएको उनको भनाइ छ।

तर गएको चैतमा भक्तपुर नपाका प्रमुखको अध्यक्षताको नगरस्तरीय सीसीएमसीको बैठकको निर्णयअनुसार भक्तपुर तलेजुमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो। त्यस्तै सोही समितिको निर्णयले दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा भक्तपुर तलेजुभित्र सर्वसाधारणको प्रवेशमात्रै होइन बलिपूजामा समेत प्रतिवन्ध लगाएको थियो।

त्यसैले सोही समितिले नै भक्तपुर तलेजु सर्वसाधारणको लागि खुला भएको निर्णय गरोस् भन्ने पक्षमा तलेजु परिवार रहेको छ। भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बन्द भनी सूचना दिने निकाय अर्कै रहेकाले आफूहरुले मात्रै सर्वसाधारणको लागि खुला भयो भन्न नसकिने प्रतिक्रिया दिए। उनले आफूहरुलाई पनि सर्वसाधारणले दैनिकजसो तलेजु खुला गर्न माग गर्ने गरेको जानकारी दिए।

‘तलेजुमा पूजाअर्चनालगायतको लागि जाँदा सर्वसाधारणले दैनिकजसो तलेजु खुला गर्न माग गर्ने गरेका छन्’, मूल नाइके जोशीले भने, ‘तर बन्द गर्ने निर्णय हामीले नगरेकाले खुला भयो भनेर पनि हामीले भन्न सक्दैनौं।’

तर सबैतिरबाट तलेजु सर्वसाधारणको लागि खुला गर्नुपर्ने माग भएकाले आफूहरुले उपयुक्त दिन खोजिरहेको उनले जानकारी दिए। ‘श्रीपञ्चमीको दिन तलेजुमा विशेष पूजाआजा हुन्छ’, उनले थपे, ‘त्यही दिनदेखि तलेजु सर्वसाधारणको लागि खुला गर्ने कि भन्ने सल्लाह भएको छ।’

पुरातत्व विभागको भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मीले पनि तलेजु खुला नभएकोबारे सबैबाट गुनासो आएको बताइन्। तलेजुभित्र जीर्णोद्धारको कार्य भइरहेकाले सर्वसाधारणको प्रवेशमा निरन्तर रोक लगाइएको उनले स्पष्टीकरण दिइन्।

‘तलेजुभित्र जीर्णोद्धारको कार्य भइरहेकाले सुरक्षाको निम्ति सर्वसाधारणको प्रवेशमा निरन्तर रोक लगाइएको हो’, प्रमुख नकर्मीले भनिन्, ‘अहिले फेरि स्वर्णद्वारको संरक्षण कार्य भइरहेकाले तत्काल तलेजु सर्वसाधारणको लागि खुला हुँदैन।’

उनले तलेजुका मूल नाइके तथा पुजारी नाइकेहरुसँगको सल्लाहमा आगामी श्रीपञ्चमीदेखि भने सर्वसाधारणको लागि खुला हुनसक्ने जानकारी दिइन्।

तर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे खुल्न नपाउँदै भक्तपुर तलेजु फेरि बन्द हुनसक्ने उनले संकेत गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?