
बुटवल – नेपाल भारत सीमा नाका रूपन्देहीको बेलहियामा पछिल्लो केही दिनयता गरिएको परीक्षणका क्रममा कोभिड–१९ संक्रमितको संख्या हरेक दिन बढ्दो छ।
बेलहिया नाकाबाट नेपाल भित्रिनेमध्ये २० प्रतिशतसम्ममा कोरोना संक्रमण देखिने गरेको स्थानीय प्रशासनले जनाएको छ। १५ दिनअघि बेलहिया नाकाबाट नेपाल भित्रिने करिब दुई प्रतिशतमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। यो संख्या बढेर २० प्रतिशतसम्म पुगेको छ।
अहिले बेलहिया नाकाबाट नेपाल प्रवेश गर्नेमध्ये १५ देखि २० प्रतिशतलाई कोरोना संक्रमण देखिएको बेलहियास्थित हेल्थ डेक्सले जनाएको छ। आइतबार बेलहिया नाकाबाट नेपाल भित्रिएका २२४ जनाको एन्टिजेन माध्यमबाट कोरोना परीक्षण गर्दा ३१ जनामा संक्रमण पाइएको बेलहिया हेल्थ डेक्सका इन्चार्ज लालमोहन चौधरीले जानकारी दिए।
यसअघि शनिबार ३१८ जनाको परीक्षण गर्दा ६० जनामा पोजेटिभ देखिएको थियो। शुक्रबार १८ प्रतिशत र बिहीबार २० प्रतिशतमा संक्रमण देखिएको थियो। संक्रमणदर बढिरहे पनि सीमामा संक्रमितलाई निगरानीमा राख्ने कुनै संरचना छैन। सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाए पनि त्यस्ता संरचना बनेकै छैनन्।
संक्रमितहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ। जबकि सरकारले ५ वैशाखमै नेपाल भारत सीमा नजिक ८ र उपत्यकाका दुई ठाउँमा १०००–१००० जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गर्दै १३ वैशाखमा यस्ता होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो। तर अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन।
अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा रहेको बताइएको छ। लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र सुठौलीमा एक–एक हजार क्षमता तथा बाँकेको जमुनाह नाकामा १५०० जना अटाउने होल्डिङ सेन्टर बनाउने सरकारको घोषणा थियो। तर कुनै पनि बनिसकेका छैनन्। रूपन्देहीमा भैरहवाको बसपार्क नजिक सिद्धार्थ नगरपालिकाले बनाएको आइसोलेसन २५ बेडको मात्र छ। अहिले यसलाई प्रयोगमा ल्याएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए।
बेड अभावका कारण संक्रमितलाई घर पठाउने गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पोजेटिभ देखिएकालाई उनीहरुको समूह बनाएर सम्बन्धित जिल्लामा पठाउने गरिएको बताए। आइसोलेसन सेन्टर बढाउनका लागि केही नगरपालिकासँग पनि कुरा भइरहेको उनले बताए। भारतबाट दैनिक करिब ५ हजार जना नेपाल ओहोरदोहोर गर्छन्। यीमध्ये धेरै रोजगारीको सिलसिलामा भारतमा रहेर घर फर्कने हुन् भने बाँकी सीमावर्ती सुनौली बजार र सानातिना कामको लागि ओहोरदोहोर गर्छन्। तर उनीहरुको परीक्षण भने हुने गरेको छैन।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक शाह टाढाबाट आएका र केही दिन बसेर आएकाहरुको मात्रै परीक्षण गर्ने गरिएको बताउँछन्। जनशक्ति र स्रोतसाधनको अभावमा हेल्थ डेक्सले प्राथमिकता हेरेर परीक्षण गरिरहेको उनले बताए।
तयार भएनन् होल्डिङ सेन्टर
कपिलवस्तुका दुई होल्डिङ सेन्टरमध्ये एउटाको ९० प्रतिशत र अर्कोको ८० प्रतिशतभन्दा बढी निर्माणको काम पूरा भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए। नेपालगञ्जको होल्डिङ सेन्टरको काम पनि ८० प्रतिशतभन्दा बढी पूरा भएको उनको दाबी छ।
बेलहियामा होल्डिङ सेन्टर बनाउने काम नै सुरु हुनसकेको छैन। जग्गा नपाएकाले होल्डिङ सेन्टर बन्ने काम अन्योलमा छ। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता शर्मा भने होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने बताउँछन्। आवश्यकताअनुसार यसअघिकै आइसोलेसन सञ्चालनमा ल्याउने र बाँकी होटलमा समेत आइसोलेसन बनाउने उनको भनाइ छ।
बजेट अभाव हुँदैन : प्रवक्ता शर्मा
सरकारका प्रवक्ता शर्माका अनुसार कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा रकम अभाव हुन दिइने छैन। आवश्यक पर्ने रकम स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले माग गरेको आधारमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको उनले बताए।
उनका अनुसार सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका लागि जिल्लागत समितिसमेत गठन गरेको छ। जसको अनुगमनका लागि मन्त्री तोकिएका छन्। पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले दाङ, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान, भौतिक पूर्वाधार विकासमन्त्री शहसराम यादवले कपिलवस्तु, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले गुल्मी, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले बाँके, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले नवलपरासीका अस्पतालको अनुगमन गर्नेछन्।
त्यस्तै कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले अर्घाखाँची, शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसीउद्दीन खाँले रुपन्देही, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले बर्दिया, श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पूर्मती ढेंगाले पाल्पा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमलाकुमारी खत्रीले रुकुम पूर्व, आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुस्मा यादवले कपिलवस्तु र पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रीना नेपाल बिकले रोल्पा जिल्लाका अस्पतालहरुमा अनुगमन गर्ने निर्णय भएको उनले बताए।