
बुटवल–दाउन्ने देवी सामुदायिक वन क्षेत्रभित्र शनिबार एउटा बयस्क पाटेबाघ मृत फेला पर्यो। पूर्व–पश्चिम राजमार्गदेखि झण्डै ५ किमिभित्र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने यो घनाजंगलमा मृत भेटिएको बाघको शरीरमा २ वटा गोली लागेका छन्। तर, मारिएको बाघका अंग चोरिएका छैनन्।
घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयले मृत बाघ देखेपछि वन कार्यालयमा खबर गरेका थिए। स्थानीयको खबरपछि श्रीनम्बर २ वन तथा पर्यावरण सुरक्षा गणका सेना, वन कर्मचारी, प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए। बाघको घाँटीमा पासो लगाएको डाम र शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ। १ सय ५० किलोग्राम तौल, साढे ७ फिट लम्बाई र साढे ३ फिट उचाइ रहेको बाघ कसले मार्यो भन्ने खुलेको छैन।
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका वन अधिकृत शंकरप्रसाद गुप्ता भन्छन्, ‘बाघ कहाँबाट त्यहाँसम्म आइपुगेको होला र कसले किन मार्यो होला भन्ने विषयमा अनुसन्धान थालिएको छ।’
उनले चितवन राष्ट्रिय निकुञ्जबाट आहारा खोज्दै सो वनमा आएको हुन सक्ने बताए पनि कसले मारेको भन्ने अनुसन्धान नगरी भन्न नसकिने बताए।
यसअघि खासै बाघ नदेखिएको सो क्षेत्रमा लोपोन्मुख वन्यजन्तु बाघ कहाँबाट त्यो जंगलमा आइपुग्यो भन्ने पनि यकिन भइसकेको छैन।
सो पोथी बाघको शनिबार साँझ पोस्टमार्टम गरी छाला निकालेर बर्दघाटको वन कार्यालयमा गाडिएको छ।
बाघको छाला भने अहिले डिभिजन वन कार्यालयमा राखिएको छ। सो छाला सुकेपछि संकलन केन्द्र चितवनको कसरामा पठाइने उनले बताए।
पछिल्लो साढे २ महिनाको अवधिमा बर्दघाट नगरपालिकासँग जोडिएको नवलपरासी पूर्वको विनयी त्रिवेणीगाउँपालिकाको दुम्कीबास आसपासमा बाघले २ जनाको ज्यान लिएको थियो भने एक जना गम्भीर घाइते भएका छन्।
नरभक्षी बाघको खोजीका लागि विनयी सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसहितको टोली खटिए पनि बाघ भेटिएको थिएन। तीन वटा हात्तीसहित १५ जना प्राविधिकको सहयोगमा नरभक्षी बाघको खोजी सुरु गरे पनि बाघ हिँडेको पाइला भेट्टाए पनि बाघ फेला पार्न सकेको थिएन।
सो क्षेत्रको बाघ र मृत फेला परेको बाघ एउटै हो या हैन भन्ने यकिन गर्न अनुसन्धान गरिने वनअधिकृत गुप्ताले बताए।
मृत फेला परेको बाघलाई अरू सिकारीले झुक्किएर मारेको हुन सक्ने वनअधिकारीको अनुमान छ।
‘यो वन क्षेत्रमा नीलगाई, बँदेल, मृगजस्ता जनावर पाइने र ती जनावर मार्न थापिएको पासोमा बाघ परेको हुन सक्छ’, उनी भन्छन्, ‘बाघ मार्ने उद्देश्य भए अंग लैजान सक्थे, बाघ मार्ने उद्देश्य जस्तो देखिँदैन, अरू जनावर भनेर टाढैबाट गोली चलाएको हुन सक्छ भन्ने हाम्रो अनुमान हो, अनुसन्धानले सबै कुरा पुष्टि गर्छ।’
बाघको संख्या गणना भइरहेकै बेला बाघ मृत फेला परेपछि सरकारी अधिकारी र संरक्षणकर्मीले चासो देखाएका छन्। नेपालमा सन्२०१८को तथ्यांकअनुसार २३५ बयस्क बाघ छन्। जसअनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१ र पर्सामा १८ वटा बाघ छन्।