
जुम्ला – हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउँ पन्छाउन थालेको छ। बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो।
हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन्। हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनी तर्फ लागेको छ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ।
अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन्। तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए।
हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ। पहिरोले यातायात अवरुद्ध भएको छ। जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन।