
काठमाडौँ – सरकारले चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। चितवनको इच्छाकामना गाविस–७ तथा साविकको जुटपानी गाविस–९ क का भूमिहीनलाई सरकारले शुक्रबार गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताइन्।
उनले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग गर्न नपाएको बताइन्।
मन्त्री श्रेष्ठले जग्गाधनीलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको जानकारी दिइन्।
उनले वास्तविक भूमिहीनलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताइन्।
उनले भनिन्, ‘लालपुर्जा नभएकाले राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्था छ। नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि! यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त? यो स्थिति दर्दनाक रहेछ। त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाऊँ भन्ने हिसाबले तुरुन्तै महोत्तरीको रामगोपालपुरबाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपुर्जा वितरणको थालनी गरेका थियौँ। त्यसपछि सप्तरी र देशभर यो अभियान चलाइयो।’
यो अभियानअन्तर्गत करिब १२ हजार नागरिक आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानुनी रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको उनले बताइन्।
उनले भनिन्, ‘यसअघि पनि धेरै जनप्रतिनिधि आए होलान्, पहिले पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा पारिएन।’
कार्यक्रममा जग्गाधनी प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका थिए।
लाभग्राहीमध्येकी चममाया मगरले भनिन्, ‘अहिलेको सरकारले दियो खुसी लागेको छ। अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातिलाई त भयो नि!’ लाभग्राहीले कानुनी रूपबाट जग्गाधनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए।