
बुटवल-कपिलवस्तुमा एकजना गर्भवती महिलाको हत्या भएको छ।
हत्या आरोपमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ।
यशोधरा गाउँपालिका ८ सिहोखोर निवासी २१ वर्षीय रहिसुन्निसा मुसलमानलाई झुन्ड्याएर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
मृतकका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षीय ससुरा अब्बास अलि भाट मुसलमानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
हत्यापछि पुरिएको शव उत्खनन गरेर पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको उनले बताए।
शव प्रहरी, जिल्ला अस्पताल तौलिहवाका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेलको उपस्थितिमा उत्खनन गरिएको हो।
ती महिला दुई महिनाको गर्भवती भएको प्रहरीले जनाएको छ।