
काठमाडौँ – सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेलले जितेकी छन्।
अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधीसँगै नगद १६ लाख रुपैयाँ जितेकी छन्। नेपालको सर्वाधिक चर्चित गायन रियालिटी सोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन्।
पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन्। नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन्।
कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३–३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउनेछ।
कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश–विदेशका ३० हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए। सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्रान्ड अडिसनमा ३५ जना र ग्रान्ड प्रिमियरमा १५ जना पुगेका थिए।
कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र इन्दिरा जोशी थिए। त्यस्तै, १५ जना चर्चित गायक पनि ग्रान्ड जुरीका रूपमा भूमिकामा थिए। १६ वर्षमुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेको थियो।
कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा को बन्छ करोडपति सिजन २ र ठेट लोक दोहोरीको प्रोमो सार्वजनिक भएको थियो।