
बुटवल – बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
बुटवल तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए।
मृत्यु हुनेहरू बुटवल १३ का अन्दाजी २८ वर्षका सविन चौधरी, अन्दाजी २८ वर्षका गोविन्द चौधरी र नवीन श्रेष्ठ रहेका छन्। त्यस्तै सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते भएकाे प्रवक्ता खाँणले जानकारी दिए। उनका अनुसार बुटवल १२ का अनिश जिसी सामान्य घाइते छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका भागिरथ र घाइते जिसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रवक्ता खाँणले बताए।