
काठमाडौँ – नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएकाले भन्दै अब नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए।
उनले अबका दिनमा आफूहरू दुग्ध विकास संस्थानसँग सँगै जान नसक्ने र किसानलाई संस्थानको भन्दा २ रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए।
नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए।
अध्यक्ष सापकोटाले भने, ‘दुग्ध विकास संस्थानले एकतर्फी ९ रुपैयाँ उपभोक्ता मूल्य बढाइदिँदा हामी धेरै उद्योगी मर्माहत अवस्थामा पुगेका थियौँ। हामीले दुग्ध विकास संस्थान घाटा पर्दा राज्यसँग अनुदान लिएर सर्वाइभ हुने, हामीले त हाम्रो प्राइमरी पुँजी, इन्भेष्ट गरेर सञ्चालन भएको इन्डस्ट्री चलाउन सकिएन भने हामीलाई कठिन हुन्छ। अब दुग्ध विकास संस्थानको पछि लाग्यो भने हुँदैन, हामी हाम्रो हिसावले अघि बढ्नुपर्छ। डिडिसीले आफैँ बसेर निर्णय गरेको ३०/६० को अवधारणालाई पनि टेकेन। १० रुपैयाँ नभइ डेरी इण्डस्ट्री सर्वाइभ हुन सक्दैन भन्ने कुरालाई पनि टेक्न सकेन। र आफू खुसीले मूल्य बढायो। हामी राष्ट्रिय दुग्ध विकास बोर्डले पहिला जे निर्णय गरेको थियो, १०÷७ मा जसरी भनेको थियो, त्यसरी दुग्ध विकास संस्थानले नमानेपछि हामी हाम्रो ढंगले अघि जान्छौँ। हामीले व्यवहारमा हेर्दा पनि यो व्यवहारिकतामुखी छैन। ४२ रुपैयाँ ५० पैसा छ, तर प्याकेट किन्दा ४३ रुपैयाँ लिइन्छ।’
त्यस्तै, व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढेपनि पछिल्लो निर्णयलाई स्वीकार्न नसकिने बताउनु भयो। उहाँले संस्थानको पछिल्लो निर्णय व्यवहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रको लागि राम्रो नभएको बताए।
व्यवसायी केडियाले भने, ‘दुग्ध विकास संस्थानलाई एउटा अभिभावक मान्दा मान्दै पनि यो पटक जुन किसिमको निर्णय दुग्ध विकास संस्थानबाट हुन गयो। यो मेरो विचारमा दुग्ध क्षेत्रको लागि राम्रो होइन। ४२ रुपैयाँ ५० पैसा व्यवहारिक पनि नभएको व्यापारीलाई हामीले ४२ को ठाउँमा ४३ दिन्छौँ। त्यो पैसा किसानलाई दियो भने केही हदसम्म राम्रो हुन्छ।’
त्यस्तै, अर्का व्यवसायी अरनिको राजभण्डारीले दुग्ध विकास संस्थानको निर्णयले अव्यावहारिक भएको र यसकै कारण किसान फस्टाउन नसकेको बताए। उनले अब निजी क्षेत्रले यसको नेतृत्व गरेर अघि बढ्ने र किसानलाई उचित मूल्य दिने बताए।
दुग्ध व्यवसायी राजभण्डारीले भने, ‘यो दुग्ध विकास संस्थान दुग्ध विकास संस्थान जस्तो भएको यस्तै अव्यवहारिक निर्णय गरेर हो। दुग्ध किसान आज फस्टाउन नसकेको कारण पनि यही हो। अब निजी क्षेत्रले यसको नेतृत्व गर्छ र किसानहरुलाई एउटा अन्तर्राष्ट्रिय स्तरको किसानहरुमा कसरी पुर्याउने भन्ने हामी भन्छौँ। हामी २÷३ वर्षअघि आत्मनिर्भरको अवस्थामा पुगिसकेका थियौँ। अब हामी फेरि आएर दुध अभावको स्थितिमा पुगेका छौँ।’
दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै कच्चा दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि आज (शुक्रवार) बाट लागू हुने जनाएको थियो। तर नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुनेगरी कच्चा दुधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दुरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ।