
विर्तामोड – इलामको सुकिलुम्बा विमानस्थलमा आज सफलतापूर्वक परीक्षण उडान सम्पन्न भएको छ। पूर्वी पहाडको प्रमुख पर्यटकीय स्थल इलाम पनि अब हवाई मार्गमा जोडिने भएको छ।
तारा एयरको ट्विनओटर विमानले परीक्षण उडान गरेको हो। सोमबार मध्यान्ह १२ बजे तारा एयरको विमान इलाम अवतरण गरेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।
विमानमा एक पाइलट, एक परिचारिका, दुई एरोनेटिक इन्जिनियर, एक एयर ट्राफिक कन्ट्रोलर गरी पाँचजना सवार थिए ।
इलाममा विमान अवतरण गरेको हेर्न विमानस्थल वरपर सर्वसाधारणको घुईंचो लागेको थियो। इलामबासीको बर्षौंदेखिको आफ्नै जिल्लाको विमानस्थलबाट हवाईयात्रा गर्ने धोको पूरा हुने भएको छ। तर नागरिक उड्डयन प्राधिकरणको कार्यालय स्थापना नभएकाले नियमित उडानका लागि केही समय पर्खनुपर्ने भएको छ।