
बुटवल– १६ महिनाअघिदेखि थन्किएका लुम्बिनीका १९ विद्युतीय सवारी साधन सञ्चालनको बाटो खुलेको छ।
बुद्ध जन्मस्थल लुम्बिनीको वातावरण प्रदूषण कम गर्न ल्याइएका १९ विद्युतीय सवारीसाधनले दर्तासँगै नम्बर प्लेट पनि पाएका छन्।
एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड रुपैयाँ लागतमा यी विद्युतीय सवारी ल्याइएको हो।
१४ ट्याक्सी र ५ विद्युतीय बसको सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको छ। सरकारी निकायबीच समन्वय नभएका कारण थन्किएका बस लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलमा दर्ता भएका छन्। प्रदेशमा दर्ता भएपनि यी सवारीसाधन लुम्बिनी विकास कोष मातहत भने आएका छैनन्।
संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमै रहेर दर्ता भएका यी सवारी दुई–तीन सातामा मन्त्रालयले लुम्बिनी विकास कोषको नाममा नामसारी गर्ने कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए। त्यसका लागि कोषले मन्त्रालयलाई अनुरोध गरिसकेको छ।
सवारी दर्ता भएसँगै कोषले कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने छलफल थालेको छ।
१६ महिनाअघि ल्याइएका सवारी लुम्बिनीस्थित तौलिहवा–लुम्बिनी कालोपत्र सडक खण्डको दुई नम्बर गेटअघि पार्किङ स्थलमा राखिएको छ। सोही स्थानमा बिजुली बस चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ। उक्त प्रोजेक्टअन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन गत डिसेम्बारमै सञ्चालनमा आएको हो।
एकपटक चार्ज गरेर ४ सय किलोमिटरसम्म गुड्ने यी सवारी भैरहवाको विमानस्थलदेखि लुम्बिनीसम्म पर्यटक ल्याउन लैजान प्रयोग गर्ने भनिएको छ। त्यसका साथसाथै बुद्धस्थलहरु तिलौराकोट, रामग्राम र देवदहसम्म पनि पुर्याउने भनिएको भएपनि सडकको अवस्था हेरेर सञ्चालन गर्ने कोषले जनाएको छ।
वातानुकुलित र आधुनिक प्रविधिसहितका यी बसमा १९ सिट रहेका छन् भने भ्यानमा ५ सिट रहेका छन्। २०७७ मंसिर र पुसमा २ पटक गरी यी सवारी साधन लुम्बिनी ल्याइएका थिए। चीनबाट ल्याइएका ती बस जहाज र लरीमा लुम्बिनी ल्याइएका हुन्।