
काठमाडौँ – संवैधानिक परिषद सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइ बिनै नियुक्त भएका पदाधिकारीविरुद्ध परेको रिटहरुको सुनुवाइ सकिएको छ।
गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलासमा सकिएको हो।
दुवै पक्षको प्रारम्भिक बहस सकिएपछि न्यायाधीशहरु आदेशका लागि आन्तरिक छलफल गरिरहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको सुनुवाइका लागि वरिष्ठ न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईलगायत १३ वटा संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेका थिए।
१५ महिनादेखि थन्क्याइएका नियुक्तिविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेपछि प्रारम्भिक सुनुवाइ भएको हो।