
बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टामा मिलेमतो देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा मागेको छ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको भन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो।
एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएपछि उक्त मिलेमतो पुष्टि भएको बताए।
अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सानी पुर्याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले मुख्यमन्त्री केसीले राजीनामा दिनुपर्ने चौधरीले बताए।
‘भवनको टेण्डर खोल्दा नै त्यहाँ राखिएका प्रावधानले सेटिङ भइरहेको छ भन्ने देखिएको थियो, कार्यकारी प्रमुखले नै सरकारको दबाबमा राज्यलाई नोक्सान पुग्ने गरी टेण्डर खोलिएको भन्दै राजीनामा दिएपछि उहाँहरूको दुराशय स्पष्ट भएको छ’, चौधरीले भने, ‘यति कुरा सार्वजनिक भइरहँदा मुख्यमन्त्री पदमा बस्न उहाँलाई सुहाउँदैन, यसबारे छानबिन हुनुपर्छ।’