
बुटवल –रानी मायादेवीले सपनामा कमलको फूल लिएर आफूसामु उभिइरहेको हात्ती देखिन्। उनले राजा शुद्धोधनलाई यो कुरा बताइन्।
राजाले ज्योतिषीहरु बोलाएर सपनाबारे सोधेपछि ज्योतिषीहरुले भने–मायादेवीको कोखबाट छोराको जन्म हुने र छोरा महापुरुष बन्ने, योगी बन्ने संकेत गरेको बताए।
त्यसको केही समयपछि मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिइन्। उनी बुद्ध बने। यही कल्पना र शील्पको प्रयोग गरेर बुद्धको मावली गाउँ रुपन्देहीको देवदहको एउटा जंगलमा मायादेवीले सपनामा देखेको हात्ती कुँदेका छन्, मूर्तिकार यमबहादुर थापाले।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सभा सदस्य थापा आफूले तयार गरेको हात्तीको मूर्तिबारे भन्छन्, ‘मायादेवीले सपनामा देखेको सेतो हात्तीलाई मायादेवीकै माइती र बुद्धको मावली गाउँमा ढुंगामा खोपेर तयार गरेको छु, मलाई लाग्छ यहाँ हामीले मूर्तिका रुपमा सुनका डल्ला तयार पारेका छौं, यी मूर्तिले बुद्ध मावलीको गरिमा अरु धेरै बढाउनेछ।’
थापाजस्तै १९ मूर्तिकारले बुद्धको मावली देवदहस्थित स्मृति सामुदायिक वनको स्मृति वन वाटिकामा बुद्धको मावली गाउँ, बुद्धको बाल्यकाल र अरु केही अमूर्त भाव झल्किने खालका मूर्तिहरु कुँदेका छन्।
पार्कको प्रवेशद्वारनजिकै मायादेवीले सपनामा देखेको हात्ती छ। अलि अगाडि पुगेपछि मायादेवी प्रसव पीडामा रहेको र त्यसको अर्को भागमा बुद्धको आकृति बनाएका छन् कलाकारले।
त्यसको केही पर इन्दिरा श्रेष्ठले बुद्धधर्ममा पवित्र मानिने पिपलको पात कुँदेकी छन्। २७ बिघा जमिन रहेको वन क्षेत्रको पाँच बिघामा बुद्धसँग जोडिने र भाव झल्काउने मूर्तिहरु छन्।
युक्रेन–रुस युद्धप्रति लक्षित गर्दै रामचन्द्र पण्डितले बनाएको बुद्धको मूर्तिले बुद्धलाई बंकरमाथि शयन गरिरहेको भाव झल्काउँछ। मूर्तिको भावबारे पण्डित भन्छन्, ‘युद्धमा बंकरहरु दौडिरहेका छन्, युद्ध जारी छ तर त्यसभन्दा माथि शान्ति छ, शान्तिले युद्ध अन्त्यको आह्वान गरिरहेको छ, बुद्ध बंकरमाथि सुतेर शान्तिको आह्वान गर्नुभएको छ।’
कलाकारले १५ दिन लगाएर यस्तै भाव झल्काउने १९ मूर्ति तयार गरेका छन्। देवदह नगरपालिकाको आयोजना, लुम्बिनी विकास कोष, स्मृति वन, ड्रिम देवदह र अन्य संघसंस्थाको सहयोगमा चलेको मूर्तिकला कार्यशालामा इलाम, नुवाकोट, बागलुङ, काठमाडौं, हेटौंडाका गरी १९ कलाकार सहभागी थिए।
कार्यशालाले पत्थरमार्फत बुद्धको जन्मस्थल लुम्बिनीलाई मावली देवदहसँग जोड्ने र यसले पर्यटन प्रबद्र्धनमा समेत सहयोग गर्ने कार्यक्रम संयोजक रहेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई बताउँछन्।
‘हामीले पर्यटकलाई अरु संरचना बनाएर आकर्षित गर्ने भन्दा पनि कलाका माध्यमबाट यो ठाउँको महत्व झल्काउने र इतिहासका बारेमा पनि धेरथोर जानकारी गराउने उदेश्य लिएका हौँ’, उनले भने, ‘यसअघि देवदहकै अर्को पार्कमा काष्ठकलाबाट बुद्धको महत्व र यहाँको इतिहाससँग जोडेर मूर्तिहरु तयार गरिएको थियो भने अरु पार्कहरुमा अरु खालको कला झल्काउने प्रयास हाम्रो रहनेछ।’