
बुटवल – रुपन्देहीमा १ लाख ९ हजार ७५८ मतदाता थपिएका छन् ।
२०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले थपिएपछि मतदाताको संख्या ६ लाख ३२ हजार ३६० पुगेको हो . जसमध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेका छन्। यसपटक रुपन्देहीका स्थापित सहरहरुको तुलनामा मध्यम स्तरका बजार क्षेत्रमा मतदाता थपिएका छन्।
रुपन्देहीका पुराना शहरहरु बुटवल र भैरहवा भन्दा २०७१ सालमा घोषणा भएका नगरपालिकामा ५ वर्षमा मतदाताको संख्या बढेको देखिएको छ। नयाँ शहरमा जनसंख्याको अनुपातभन्दा बढी मतदाताको संख्या थपिएको हो। निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारी नयाँ शहरमा मतदाताको संख्या बढेको बताउँछन् । उनका अनुसार नयाँ शहरमा बसाईसराई गरेर आउने क्रम बढेकोले मतदाता संख्या पनि बढेको हो।
रुपन्देहीको नयाँ नगरपालिका तिलोत्तमामा ५ वर्षमा ४२ प्रतिशत मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय चुनावमा तिलोत्तमामा ६० हजार ४४१ मतदाता थिए। अहिले २५ हजार बढेर मतदाताको संख्या ८५ हजार ७४७ पुगेको छ।
तिलोत्तमा मतदाता बढी भएका नगरपालिका झापाको मेचीनगरपछिको नगर हो। सबै भन्दा बढी मतदाता झापाको मेचीनगर नगरपालिकामा ९० हजार मतदाता छन्।
यस्तै, देवदह नगरपालिकामा १० वर्षको अवधिमा ३४ प्रतिशतले जनसंख्या बृद्धि हुँदा ५ वर्षमा मतदाता थपिने दर ४८ प्रतिशत देखिएको छ।
देवदह नगरपालिकामा ५ वर्ष अघि ३२ हजार ७०३ मतदाता रहेकोमा योपटक झण्डै साढे १५ हजारले बढेर ४८ हजार २९१ पुगेको छ। बुटवल उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३४५ मतदाता थपिएका छन्। बुटवलमा मतदाताको संख्या ९० हजार ६५ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन व्यवस्थापनका फाँट प्रमुख विनोद भट्टराईका अनुसार अघिल्लो निर्वाचनमा बुटवल उपहानगरपालिकामा ७६ हजार ७२० जना मतदाता थिए।
नगरपालिकामध्ये सबैभन्दा कम मतदाता लुम्बिनीमा छन्। लुम्बिनी साँस्कृतिक नगरपालिकामा थपिएकासहित ४३ हजार ८९० जना मतदाता छन्। २०७४ सालमा लुम्बिनीमा ३६ हजार ११५ जना मतदाता थिए।
सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, सैनामैना नगरपालिकामा ५१ हजार २२ मतदाता रहेका छन्।
१० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ जना मतदाता र कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता छन् ।
यसअघि २०७४ मा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ जना मतदाता थिए।
यस्तै निर्वाचन कार्यालयका अनुसार थपिएका मतदातासहित ओमसतिया गाउँपालिकामा २३ हजार ९२९, कञ्चन गाउँपालिकमा २८ हजार ९७८, कोटहीमाई गाउँपालिकामा २६ हजार २४२ मतदाता रहेका छन् ।
यस्तैगरी, गैडहवा गाउँपालिकामा ३० हजार ३५१, मर्चवारी गाउँपालिकामा २२ हजार ७४७, मायादेवी गाउँपालिकामा ३० हजार ४६४, रोहिणी गाउँपालिकामा मतदाताको संख्या २६ हजार ९६९ पुगेको छ।
यस्तै थपिएका मतदातासहितको संख्या शुद्धोधन गाउँपालिकामा २७ हजार ५७८, सम्मरीमाई गाउँपालिकामा २३ हजार ६८२ र सियारी गाउँपालिकामा २७ हजार ७५३ पुगेको छ।
९० मतदान केन्द्र थपिए
रुपन्देहीमा ९० वटा मतदान केन्द्र थपिएका छन् । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा २०८ वटा मतदान स्थल र ६१० मतदान केन्द्र थिए । अहिले मतदान केन्द्र ७०० पुर्याइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
एक हजार मतदाताको लागि एक मतदान केन्द्र बनाउने योजना अनुसार मतदान केन्द्र थप गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख भण्डारीले बताए।
उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन्। रुपन्देहीमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टी दर्ता भएका उनले जानकारी दिए।
यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी, नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलाल, नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहट, विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस वीपी, समाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन दर्ता भएका छन्।
योसँगै रुपन्देहीमा ३८ दलले दलगत रुपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन्। जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय छन्। दलहरुले चुनावी अभियान थालिसकेका छन् । मुख्य दलहरु चुनावी अभियान लिएर गाउँनगरका टोलटोलमा पुगेका छन् ।