
बुटवल– लुम्बिनीका गठबन्धनका दलहरूले गठबन्धनभन्दा बाहिरका दलहरूसँग तालमेलको ढोका बन्द गरेका छन्।
बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले चुनावी गठबन्धनका दलको प्रतिनिधित्व हुनेगरी संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ।
चुनावको अनुगमनका लागि बैठकले संयुक्त स्थलगत अनुगमन कार्यदल बनाएको छ। जसमा कांग्रेसका राजु खनाल, माओवादी केन्द्रका लुमकान्त न्यौपाने, एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन्।
कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्री आलम बैठकमा सहभागी थिए।
बैठकले ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भइनसकेको निष्कर्ष निकालेको छ।
‘यस कारण आन्दोलनको उपलब्धि रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरिहार्यता त बढ्दै गइरहेको छ, आजको बैठकमा परिवर्तनका उपलब्धि र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै मिति २०७८ साल चैत्र २८ गते लुम्बिनी प्रदेश स्तरीय तपशील बमोजिमका चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।