
बुटवल– राष्ट्रिय जनमोर्चा संघीयता खारेजीको नारा लिएर स्थानीय निर्वाचनमा जाने भएको छ। बुटवलमा ‘राष्ट्रिय जनमोर्चाको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७५’को सार्वजनिक गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ भन्ने नारा लिएर चुनावमा जाने बताए।
संघीय शासन प्रणालीको अभ्यासबाट संघीयताका कारण नेपालमाथि आर्थिक बोझ थपिँदै गएका कारण संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक राज्य प्रणाली अपनाउनु उपयुक्त हुने उनले बताए।
राष्ट्रिय जनमोर्चाले वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई उपयोग गर्ने नीति लिएको भन्दै उनले चुनावमार्फत भ्रष्टाचार नियन्त्रण, विकेन्द्रीयता र सन्तुलित विकास नीतिमा जोड दिने बताए।
घोषणापत्रमा स्थानीय तहमा बढ्दो बेरूजु न्यूनिकरण गर्दै सुशासनमा जोड दिने, कृषि र कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने, स्वेदशी उत्पादनलाई संरक्षण गर्न विदेशी आयातमाथि नियन्त्रण गर्ने नीति अघि सारेको छ।

चित्रबहादुर केसी।
जनमोर्चाले एमसीसी पारित गरेपछि राष्ट्रियतामाथि संकट बढ्दै गएकाले यो मुद्दालाई पनि चुनावमा लैजाने भनेको छ।
अध्यक्ष केसीले संविधानमाथि हस्तक्षेप गर्ने प्रतिगमनका विरूद्ध पाँचदलीय गठबन्धनमा जनमोर्चा सामेल भएको बताए।
‘अझै पनि संविधान, संविधानका उपलब्धि र संसदमाथि प्रतिगमनबाट खतरा रहेकै छ,’ उनले भने, ‘अहिले पनि संसद अवरुद्ध छ, त्यसका विरूद्ध यो गठबन्धन हो, त्यसैले हामी गठबन्धनमा कार्यगत एकता गरिएको हो।’
नेकपा एमालेको नेतृत्वमा फाँसीवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको भन्दै जनमोर्चाले घोषणापत्रमा स्थानीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न गठबन्धनसँग सहकार्य गरेको उल्लेख गरेको छ।
‘राजावादी तथा फाँसीवादी यी दुईटा बेग्लाबेग्लै धारा गणतन्त्रका विरूद्ध एक हुने सम्भावना देखिएको छ,’ घोषणापत्रमा भनिएको छ, ‘उक्त खतराका विरूद्ध पाँच दलीय गठबन्धनले संघर्ष गर्दै आएको सही छ।’