
बुटवल- रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासीले छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
तिलोत्तमा जानकीनगरमा सिद्धार्थ राजमार्ग अवरूद्ध गर्दै स्थानीयले प्रहरीले समेत सहयोग नगरेको बताएका छन्।
प्रदर्शनमा सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै प्रहरीविरूद्ध नाराबाजी गरेका छन्।
बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको र अमृता गएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ।
मृतकका दाजु पुष्पक खत्रीका अनुसार माइतमै रहेकी अमृता ज्वाइँ प्रेम टण्डनको पटक-पटकको फोनपछि बुधबार राति साढे ८ बजे घर गएकी थिइन्।
घर गएपछि राति ९ बजेर ३२ मिनेटमा अमृताले दाजु पुष्पकलाई आफूलाई बचाउन र घरबाट निकाल्न भन्दै म्यासेज पठाएकी थिइन्।
१० बजेर १५ मिनेटमा प्रेमले अमृता बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए।
आफूहरु त्यहाँ पुग्दा अस्पतालले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको मृतकका दाजु पुष्पकले बताए।
घटनाक्रमले हत्या भएको पुष्टि हुने भएपनि प्रहरीले सहयोग नगरेको स्थानीयको आरोप छ।
पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयबासिन्दाको आरोप लगाएका छन्।
सात वर्षअघि प्रेम विवाह गरेकी अमृताले गत भदौमा पटकपटक यातना पाएको भन्दै वडा कार्यालयमा निवेदन दिएकी थिइन्।
त्यसपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो। गत मंगलबार मात्रै पनि अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइती पक्षलाई बोलाएका थिए।
माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए। बुधबार साँझ अमृतालाई घरपरिवारले भारत जान दबाब दिएको तर आफूलाई षड्यन्त्र गरेर मार्ने योजना बनाएको आशंका रहेको भन्दै उनी माइतीघर गएकी थिइन्।
श्रीमान् प्रेमले घर नआए छोरालाई जे पनि गर्ने भनेपछि उनी राति साढे ८ बजेतिर घर फर्केको आमा सावित्राले बताइन्। अमृताले तिलोत्तमाकै नयाँमिलमा रहेको एक फर्निचर उद्योगमा काम गर्थिन्। मृतकका ५ वर्षीय छोरा छन्।
इलाका प्रहरी कार्यालयअघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका छन्। अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा पत्रकारहरू शरण कर्माचार्य, दिनेश श्रेष्ठ, डीबी सुस्लिङको मोबाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीले समाचार संकलनको क्रममा गरेको ज्यादतीको विषयमा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरुले भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।
पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ति जारी गर्दै प्रहरीका जिम्मेवार व्यक्तिबाट फोटो/भिडियो खिच्न रोक लगाउने, पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर ‘पत्रकार चिन्दिन’ भन्दै प्रहरीले गरेको हातपात र दुर्व्यवहार खेदजनक रहेको जनाएको छ।
महासंघको प्रदेश समितिका महासचिव बिक्रम खड्काले पनि घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।
प्रदेश समितिबाट प्रकाशित विज्ञप्तिमा अमर्यादित गतिविधि गर्ने प्रहरीलाई कारवाही गर्नु पर्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्याउन प्रहरीलाई चेतावनी दिएको छ।
त्यसैगरि प्रेस चौतारी नेपालको रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पनि विज्ञप्ति प्रकाशित गर्दै घटनाको भर्त्सना गरेका छन् । रिर्पोटिङको क्रममा पत्रकारमाथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपालले भर्त्सना गरेको छ । संघका सचिव श्यामलाल पोखरेलले एक विज्ञप्ति जारी गरी पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गर्न माग गरेका छन्।