
बुटवल– नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ।
पार्टीको बुटवल उपमहानगर समिति बैठकले नगर सभापति पाण्डेको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस बुटवल नगर सचिव छाया पोखरेलले जानकारी दिए।
पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए। पाण्डे गत स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए। सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।
यस्तै उपप्रमुखका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन्। ५ दलीय गठबन्धनमा आबद्ध दलहरुले पनि कांग्रेसबाट खेलराज पाण्डे प्रमुखको उम्मेदवार हुनुपर्ने मत राख्दै आएका थिए।
नेकपा एमालेले बुटवलबाट अहिलेका प्रमुख शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ।