
बुटवल – सत्तारूढ पाँचदलीय गठबन्धनले शनिबार (आज) बुटवलमा चुनावी सभा गर्दैछ।
बुटवलको देवीनगरमा दिउँसो १२ बजेपछि हुने सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्।
यस्तै, सो सभालाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
चुनावी एकतालाई परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरिएको चुनावी सभामा सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिए।
बुटवलमा स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ।