
बुटवल-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएको बताएका छन्।
बुटवलमा शनिबार पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उमेदवारलाई जिताउन आह्वान गरे।
उनले गठबन्धनको तागतबाट डराएकाहरुले विभिन्न भ्रम छरेको बताउँदै त्यस्तो भ्रमका पछाडि नलाग्न आग्रह गरे।
कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्छ,’ उनले भने, ‘र, तपाईंको ठाउँमा एमालेले यतिका वर्ष जितेर केही गरेन।’
उनले विपन्न र सुकुम्बासीहरु सधैँ भोट बैंक हुने कि आफ्नो समस्या सधैँका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने बताए।
सभापति देउवाले कांग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको बताए।
गठबन्धनले जिते ५ वर्षमा देखिनेगरी विकास गर्ने उनले जनाए। उनले आफ्नो ठाउँ र देशको विकास र सुशासनका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गरे।
‘गठबन्धन संविधान र लोकतन्त्रको संरक्षणका लागि बनेको हो। विकास र निकासको राष्ट्रिय आवश्यकता हो,’ उनले भने, ‘त्यसैले यसपालि गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् ’
उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे।
उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेइ गर्नुभयो। अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्यो तर चल्न दिएको छैन ।’ प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि एमसीसी लगायतका सम्झौता गरेर परिवर्तनको सुरुवात गरेको बताए।
‘एमसीसी बिना ब्याजको अनुदान हो विकासको काम गर्न एमसीसी ल्याएका हौँ,’ उनले भने, ‘ब्याजसहितको ऋण दिन त भिएन, कोरिया, जापानलगायत पनि तयार छन् । तर, लिन सक्दैनौँ।’ उनले बुटवलले एमसीसीबाट सबैभन्दा लाभ लिने बताए।