
बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दललाई सत्ता स्वार्थका लागि बनेको समूहको संज्ञा दिएका छन्।
बुटवलमा एमालेले गरेको चुनावी सभामा बोल्दै ओलीले भने, ‘गठबन्धनलाई करङ निस्किएको बच्चाजस्तो छ, देशै करङ निस्केको बच्चाजस्तो भएको छ, बाहिरैबाट करङ गन्नसक्ने भएको छ।’
उनले सत्तारुढ दलहरुको कडा आलोचना गर्दै छोरी जिताउनका लागि पार्टी नै सिध्याउन लागेको बताए।
‘छोरी भएर जन्मिनु अपराध हो त भन्छन्, अचम्म लाग्छ, खैर उनीहरु धम्काउने गरेका छन्, उनीहरुको नीति त्यही हो धम्क्याउने र तर्साउने हो, ‘उनले भने, ‘म सोध्न चाहन्छु निर्वाचन आयोगलाई जनतालाई धम्क्याउन पाइन्छ? गठबन्धनको जनतालाई के मतलब भीरबाट लडोस् कि के गरोस् के मतलब गठबन्धनको।’
उनले प्रतिनिधिसभा विघटनबारे प्रष्टिकरण दिँदै एमालेले संविधानको रक्षा गर्न र जनताको अधिकार रक्षाका लागि चुनावमा जाने निणर्य गरे पनि सर्वोच्च अदालतको परमादेशपछि नयाँ सरकार बनेको बताए।
‘त्यसबेला एमाले सरकारका सामु अन्य विकल्प थिएन, जनादेशका लागि जनतामा जाने निष्कर्ष भयो। तर अदालतको परमादेशले सरकार बदलियो,’ उनले भने, ‘विकास अभियान फेरि एकपटक अवरूद्ध भयो। चरम पदीय स्वार्थ राखेर संविधानको आधारभूत मर्ममाथि गरिएको प्रहारलाई जनताकै मतबाट प्रहार गर्न हामी आएका छौँ।’
कार्यक्रममा एमाले नेता घनश्याम भुसालले जनतालाई गाली गरेर, डर, त्रास र धम्की देखाएर मात्र चुनाव नजितिने बताए। गठबन्धन दलका नेताप्रति इंगित गर्दै उनले चुनाव जित्न गालीको साटो जनताको मन जित्न सुझाव दिए।
‘चुनाव जित्न जनताको मन जित्नुपर्छ। दुःखमा साथ दिनुपर्छ,’ उनले भने, ‘त्यो काम एमालेले गरेको छ।’
नेता भुसालले गठबन्धनका नाममा नागरिकका हक अधिकार कुण्ठित गर्ने दललाई साथ नदिन पनि आग्रह गरे।