
लुम्बिनी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतमबुद्धको जन्मथलो लुम्बिनी आइपुगेका छन्। उनले चढेकाे हेलिकप्टर भर्खरै ल्याण्ड भएकाे छ। लुम्बिनीमा बुद्धपूर्णिमाको मूल कार्यक्रमसँगै बौद्ध सम्मेलन केन्द्रको उद्घाटन पनि हुँदै छ।
२५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ।
२५६६ औं बुद्धपूर्णिमाको औपचारिक कार्यक्रम पनि सोही केन्द्रकै हलमा आयोजना हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसाद संयोजक सिद्धिचरण (ढुण्डीराज) भट्टराईले जानकारी दिए।
मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिएका हुन्। मोदी आउने हेलिकोप्टर अवतरणका लागि लुम्बिनीमा ४ वटा हेलिप्याड बनाइएको थियाे
प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ।
मोदीको नेतृत्वमा आउने टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
लुम्बिनीमा मोदीले मायादेवी मन्दिरको दर्शन तथा पूजा गर्नेछन् भने सम्मेलन केन्द्रमा हुने बुद्ध पूर्णिमाको मूल कार्यक्रममा सहभागी हुनेछन्।
यस्तै प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन्।
लुम्बिनीमै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ताको कार्यक्रम छ। लुम्बिनीकै प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ।