
लुम्बिनी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजनीतिकभन्दा बढी आध्यात्मिक भ्रमणले आनन्द आउने बताएका छन्।
२५६६औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजति बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बोल्दै भारतका प्रधानमन्त्री मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताए।
मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेका बताउँदै आउँदा आफू अत्यन्तै खुसी हुने भन्दै नेपाली भाषामा भनेका थिए, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ।’
उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले वनारसलगायतका धार्मिक स्थलहरुको भ्रमण गरेको स्मरण गर्दै त्यसले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाएको बताए।
उनले बुद्धले नेपाल र भारतलाई अरु बढी जोड्ने र विश्वमा बुद्धका विचारलाई फैलाउन नेपाल र भारत एकैठाउँ उभिनुपर्ने बताए। उनले बुद्ध मानवताको लागि बोध र शोध दुवै भएको भन्दै बुद्ध विचार र सभ्यता भएको उल्लेख गरे।
औपचारिक कार्यक्रममा सहभागी हुनुअघि प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका थिए। प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवाले पनि पूजाअर्चना गरे।
दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए। मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पोखरीको परिक्रमा गर्नुका साथै अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरेका थिए। त्यसलगत्तै दुबै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिरदेखि पश्चिममा रहेको वोधी वृक्षमा जलसिञ्चन गरेका थिए।
अन्तर्राष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति नेपाल सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गरेका छन्। मोदी साढे ४ बजे भारतीय सेनाको हेलिकोप्टरबाट स्वदेश फर्किएका छन्।