
बुटबल- बुटवल उपमहानगरपालिकामा निर्वाचित भएसँगै नगरप्रमुख खेलराज पाण्डे मतदाताका घरदैलोमा पुगेर धन्यवाद दिएपछि विकासका काममा केन्द्रित भएका छन्। काम रोकिएका संघीय सरकार अन्तरगतका योजनामा समेत चासो दिँदै निरन्तर खबरदारी गरेपछि निर्माण कम्पनीले काम अघि बढाएका छन्।
उनी भन्छन्-‘बुटवल उपमहानगरपालिकाभित्रका सबै योजनामा जनताको चासो र सरोकार हुन्छ, त्यसको लाभहानी जनताले लिने हो। त्यसैले बुटवल उपमहानगरपालिकाले चासोका साथ त्यस्ता काममा समन्वय, सहकार्य, सहजीकरण र कहिलेकाँही खबरदारी पनि गर्छ, जसले काम गुणस्तरीय बनाउन, समयमै पूरा गर्न र जनताको समस्या समाधान गर्न सजिलो हुन्छ।’
बजेट निर्माणको तयारीमा रहेको बुटवल उपमहानगरपालिकाले जनताका आवश्यकता र प्राथमिकता निर्धारणका लागि छलफल र जनभावना बुझ्ने काम गरिरहेको उनी बताउँछन्। प्रस्तुत छ, यी र यस्तै विषयमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग देश सञ्चारका लागि सी. पी. खनालले गरेको कुराकानी।
स्थानीय सरकारका मुख्य प्राथमिकता के हुन् ? बुटवलमा ५ वर्षमा के गर्न सकिन्छ भन्ने लागेको छ?
हरेक वडाको पहिचानसहितको कार्यक्रम हामीले ल्याउनेछौँ। अबको पाँच वर्षमा हरेक वडालाई आफ्नो पहिचान स्थापित गर्ने गरी, भूगोल, भेग र व्यावसायिक क्षेत्रको आधारमा, ऐतिहासिक, पुरातात्विक क्षेत्रका आधारमा वडाको पहिचान कायम राख्दै ती क्षेत्रको विशेषताअनुसारका कार्यक्रमलाई अघि बढाउनेछौँ। फोहोरमैला व्यवस्थापन वैज्ञानिक ढंगले समाधान गर्न विज्ञहरूसँग छलफल गरेर अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्नेबारे छलफल गर्दैछौँ।
मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भइरहेको छ। स्थानीयको समस्या सम्बोधन गर्दै औद्योगिक क्षेत्र निर्माण गर्ने काम अघि बढ्नेछ। पदस्थापन भएको १२-१५ दिनमै केही काम सुरु गरेका छौँ भने केही सुरु हुने क्रममा छन्। मतदातासँग भेटेर धन्यवाद भन्नुपर्ने र सुझाव लिनुपर्ने पनि छ। योसँगै जनताका समस्या समाधानको काम पनि सँगसँगै अघि बढाउनुपर्ने छ। त्यसलाई पनि अघि बढाइरहेका छौँ।
केही समयपछि बुटवलका समस्या समाधानका लागि विज्ञहरूको छलफलमा बुटवललाई आर्थिक केन्द्र बनाउन, देशभरका ठूला लगानीकर्तालाई बुटवलमा ल्याउनका लागि छलफल गर्नेछौँ। बुटवल हाम्रो संरक्षक हो, हाम्रो अभिभावक हो भन्ने भावना सबैमा जगाउनुपर्ने छ। अबको ५ वर्षमा धेरै सूचकांकमा परिवर्तन ल्याउने छौँ। शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानीका क्षेत्रमा अलि बढी महत्त्व दिएर काम गर्नेछौँ। वडाहरूका मूल समस्यालाई ल्याएर तीनको समाधान गर्ने गरी कार्यक्रम ल्याउनेछौँ।
बुटवलका समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना कस्ता छन्?
हामीले चुनावको समयमा धेरै संकल्प जनताका माझमा गरेका थियौँ। तीमध्ये केही तत्काल गर्न सकिने कार्यक्रम छन्। केही २-३ वर्ष लाग्ने खालका छन् भने केही योजना बनाएर क्रमागत तरिकाले अघि बढाउँदै लैजानुपर्ने योजना पनि छन्। ती योजनालाई तीनको प्रकृतिअनुसारले तत्कालीक र दीर्घकालीन रूपमा हामीले छुट्याउने छौँ र त्यसैअनुसारले काम गर्दै जानेछौँ। कतिपय कार्यक्रम र योजनाहरू हामीले मात्रै गर्न सक्ने या हाम्रो बजेटले मात्रै भ्याउने खालका छैनन्, ती कार्यक्रममा प्रदेश सरकार, संघीय सरकार र अरू अनुदान दिने निकायहरूसँग समन्वय, सहकार्य गरेर अघि बढ्नेछौँ।
तत्काल गर्ने काम हामीले सुरु गरिसकेका छौँ। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक संघीय योजना भएपनि यो बुटवलभित्रको योजना हो। यसले यहाँका बासिन्दा, व्यवसायी र बटुवालाई असर गरिरहेको छ। कतिले त व्यवसाय नै बन्द गर्नुपरेको छ। यो सडक निर्माणमा भएको ढिलासुस्तीलाई खबरदारी गर्ने, झक्झक्याउने र अनुगमन गर्ने, कतिपय अवस्थामा अगुवाई समेत गरेर सुधार गर्नुपर्ने देखिएपनि म आफैँ सडकमा गएर दिनदिनैजसो कामको अनुगमन गरेँ। त्यसपछि यो सडक निर्माणले गति पाएको छ। तत्काल गर्नुपर्ने अर्को काम थियो- ज्योतिनगरको पहिरो र तिनाउ नदी किनारका बस्तीको जोखिम न्यूनीकरणको काम। ज्योतिनगर पहिरोको समस्या समाधानका लागि हामीले काम थालेका छौँ। त्यहाँ प्राविधिकहरूको सल्लाहअनुसार नै बस्तीभन्दा माथिबाट आउने खहरे खोलाको बाढीलाई अर्कोतर्फ बग्ने गरी पर्खाल बनाउने र सुरक्षा दिने काम सुरु भएको छ। तिनाउ नदी किनारका १६ हजार घरपरिवारमध्ये जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित आवासको लागि नदीमा तटबन्ध गर्ने, सुरक्षित बनाउने काम पनि चलिरहेको छ।
सुकुम्बासी समस्या समाधानका लागि बसोबासका आधारमा प्रमाणपत्र दिने काम गर्छाैँ। १६ हजार घरपरिवारको नाम तयार भइरहेको छ। त्यसलाई कानुनअनुसार सूचना प्रकाशित गरेर नगरबाट बसोबासको प्रमाण पत्र दिनेछौँ। तिनाउ करिडाेरबाट विस्थापितहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि हामीले योजनामा राख्नेछौँ। अर्को कुरा- मोतीपुर क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भइरहेको छ। स्थानीयको भावना र मागलाई सम्बोधन गरेर औद्योगिक क्षेत्र बनाउने काम अघि बढाउन संघीय सरकारसँग समन्वय गर्नेछौँ। सेमलारमा देशकै उत्कृष्ट कृषि उपज केन्द्र निर्माण गर्ने काम पनि हाम्रो योजनामा आउनेछ। जग्गाको टुंगो लागेपछि यसको काम अघि बढ्नेछ। अब, यी केही अल्पकालीन योजनाहरू पनि हुन्। दीर्घकालीन रूपमा हामीले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने भनेका छौँ। त्यसका लागि हामीले विज्ञहरूसँग छलफल गरेर योजनाबद्ध रूपमा काम गर्नेछाैँ। यस्तै, बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, मेगा सिटीका रूपमा विकास गर्नेजस्ता योजनाहरू छन्। तिनलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर चरणबद्ध रूपमा काम अघि बढाइनेछ।
बुटवलको आगामी बजेटका प्राथमिकता के हुन्?
बुटवलको बजेटका प्राथमिकता जनताका आवश्यकता हुन्। जनतालाई सबैभन्दा बढी आवश्यक के छ भन्ने कुराका आधारमा हामीले बजेट बनाउनेछौँ। समग्र बुटवललाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर भौगोलिक, व्यावसायिक, ऐतिहासिक र पूरातात्विक हिसाबले विकास गर्ने कार्यक्रम ल्याउनेछौँ। वडा नम्बर १४ देखि १९ लाई ग्रीन ल्याण्डका रूपमा विकास गर्ने, अर्गानिक खेती, थारु होमस्टे निर्माण गर्ने र विमानस्थलदेखि नजिक पर्ने सो क्षेत्रलाई अन्तरराष्ट्रिय समुदायलाई आकर्षित गर्ने गरी कार्यक्रम ल्याउने छौँ। पारी बुटवललाई ऐतिहासिक र पुरातात्विक हिसाबले विकास गर्ने खालका कार्यक्रम ल्याउनेछौँ। शैक्षिक, पर्यटन, स्वास्थ्यलाई त्यसैगरी वडाहरूलाई समेत किटान गरेर कार्यक्रम ल्याउने छौँ। यहाँका किसान, मजदुर, व्यवसायीहरूलाई प्रोत्साहन हुने गरी कार्यक्रम आउनेछन्।
बुटवलको विकासका रणनीतिमा अन्य दल तथा संघसंस्थाको भूमिका कस्तो हुनुपर्छ?
बुटवललाई साझा रूपमा अघि बढाउनुपर्छ। बुटवल उपमहानगरपालिकाले अभिभावकका रूपमा भूमिका निर्वाह गर्दैगर्दा यहाँका संघसंस्थाहरूलाई साथसाथै लिएर अघि बढ्नेछ। निजीक्षेत्र, बुटवलबासी र हरेक क्षेत्रमा संलग्नहरूलाई सँगै लिएर हामी बुटवलको विकासका लागि अघि बढ्नेछौँ। यसमा लगानी र सहकार्यका लागि बुटवल र संघसंस्थाहरूसँग समन्वयकारी र साझेदारी हुनेगरी हामीले काम गर्नेछौँ। बुटवलको विकासका लागि सबैको साथ जरुरी छ र त्यो पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ।
प्रदेश तथा संघीय सरकारको समन्वय कस्तो हुनुपर्छ?
प्रदेश र संघसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ। हाम्रो बजेटको अंशसमेत संघ र प्रदेशको अनुदानमा पनि आधारित छ। त्यसैले प्रदेश र संघसँग विकासका कार्यक्रममा हामी साझेदारी गरेर, समन्वय र सहकार्य गरेर अघि बढ्नेछौँ। संघको बजेटमा हाम्रा केही कार्यक्रमहरू बाँकी रहेका छन्। हामी निर्वाचित भएर आउनुअघि नै संघको बजेट निर्माण भइसकेको र हामीले संघ सरकारसँग छलफल गर्न नपाउँदै बजेट आएकाले केही कार्यक्रमहरू समावेश हुन सकेनन्। त्यसलाई हामीले फेरि छलफल गरेर ती छुटेका कार्यक्रमहरूलाई समावेश गर्नेगरी पहल गर्नेछौँ। प्रदेशमा पनि हामीले बजेटमा हाम्रा कार्यक्रमहरू समावेश गर्नका लागि अनुरोध गर्नेछौँ। प्रदेशसँग निरन्तर रूपमा छलफल गरेर अघि बढ्नेछौँ।
गठबन्धन दल र मुख्य प्रतिस्पर्धीलाई कसरी समेट्नुहुन्छ?
निर्वाचन सकिएपछि मलाई लाग्छ, दलीय भावना समाप्त भएको छ। प्रदेश र केन्द्रमा प्रतिपक्षी हुन्छ। तर स्थानीय सरकारमा प्रतिपक्षीको व्यवस्था छैन। यहाँ एमालेबाट उपप्रमुख, वडाध्यक्षहरू निर्वाचित हुनुभएको छ। नगरलाई साझा र सबैले अपनत्व महसुस हुने गरी, प्रतिनिधित्व हुने गरी हामीले काम गर्नेछौँ। म त्यही बाटोमा हिँड्नेछु। उपविजेताज्यूलाई सहभागी बनाएर, उपमहानगरपालिकाको कार्यालयमा नियमित आउने र सल्लाह लिनेदिने वातावरण हामीले निर्माण गर्नेछौँ।
बुटवलबासीसँग तपाईंकाे अपेक्षा के छ?
बुटवलका सबैको साझा हो। हामी धेरै काममा पिपिपी मोडलमा जान चाहन्छौँ। बुटवल अभिभावक हो भन्ने भावनाको जागृत गराउन चाहन्छौँ। विकासका हरेकजसो कार्यक्रममा जनतालाई साझेदार बनाएर अघि बढ्न चाहन्छौँ। बुटवलमा लगानीकर्तालाई धेरैभन्दा धेरै आकर्षित गर्न चाहन्छौँ। यसका लागि सबै क्षेत्रको सहयोग र सहभागिता आवश्यक पर्छ। यसमा सहयोग गर्नका लागि सबैलाई अपील गर्न चाहन्छु।