
बुटवल – बुटवलको मुख्य सडकखण्ड निर्माण फेरि अलपत्र परेको छ। बुटवल उपमहानगरले पटक–पटक दबाब सिर्जना तथा अनुगमन गरेर केही दिन सडक निर्माण भए पनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिँदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ।
जसकारण पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा बुटवल भएर गुड्ने सवारीदेखि बुटवलको आन्तरिक सवारी सञ्चालनमा समेत कठिनाइ भएको छ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किमि सडक ३० महिनामा पूरा गर्ने गरी ०७३ चैत १२ मा सम्झौता भएको थियो।
दुई वर्षअघि नै सकिनुपर्ने काम पूरा नभएपछि ०७९ असार मसान्तसम्म म्याद थप भएको थियो।
निर्माण कम्पनीको चरम लापरबाही र नियमनकारी निकाय डिभिजन सडक कार्यालय र बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले चासो नदिँदा ६ लेनको साढे ३ किमि सडक ६ वर्षभन्दा बढी समयसम्म पनि पूरा भएको छैन।
निर्माण कम्पनी द कञ्चनजंघा/बिरुवा जेभीले अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि असार ३० गते सकिएको छ। तर, सडकको भौतिक प्रगति हालसम्म ३० प्रतिशत मात्रै छ।
साढे ३ किमि सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी र ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवल र विस्तार आयोजनाको भूमिकाप्रति बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन्।
‘यो सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचित भएर आउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी, उद्योगी व्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्र काम पूरा गर्ने गरी सहमति जुटाएका थियौं,’ उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘तर, केही दिन काम भयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्का लगाउने, नियमन गर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो कि होइन, त्यहाँका कर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशा बनाएर राख्न पाइन्छ?’
उनले काममा ढिलाइ भएपछि आफूले निरन्तर अवलोकन र अनुगमन गरेर कामलाई तीव्रता दिए पनि निरन्तरता दिने काममा सडक डिभिजन र विस्तार आयोजनाले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘यही असार मसान्तमा काम सक्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीको ठेक्काको म्याद सकिदैँ छ,’ उनले भने, ‘काम पूरा गर्छु भनेको समयमा पूरा नगर्ने कम्पनीलाई नै म्याद थप गर्ने भन्ने सुन्दै छु, जुन समयमा काम पूरा गर्छु भनेको थियो, त्यो समयभित्र पूरा नगर्नेले फेरि थप गरिएको समयमा पूरा गर्छ भन्ने कसरी विश्वास गर्ने ?’
बुटवल उपमहानगराको पहलमा भएको सहमतिअनुसार केही दिन सडकका खाल्डा पुर्ने र पक्की गर्ने काम सुरु भए पनि काम पूरा हुन सकेको छैन।
भत्काएको सडक क्षेत्र र अलपत्र नालीका कारण वर्षा लागेपछि सडक हिलाम्मे छ। ठुल्ठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन्।
मुख्य सडक क्षेत्रका व्यवसायीले सास्ती व्यहोर्नुपरेको छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू अस्तव्यस्त सडकका कारण कैयौं व्यवसायी विस्थापित भएको बताउँछन्।
उनी भन्छन्, ‘कोभिड १९ ले व्यवसाय थला परेको थियो, गोलपार्कदेखि चौराहासम्मका व्यवसायी धेरै विस्थापित भइसकेको अवस्था छ, बहालमा व्यवसाय गरिरहेकाहरू झन् पीडित भएको अवस्था छ।’
उनले सडक निर्माणको काम निर्धारित समयभित्रै पूरा गर्न निरन्तर दबाब दिए पनि सडक डिभिजन र विस्तार आयोजनाले गम्भीरतापूर्वक काम गराउन चासो नदेखाएको बताए।
‘बुटवल उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि मेयरज्यूकै पहलमा सिडिओ, ठेकेदार, सडक डिभिजन र विस्तार आयोजनासहित बसेर छिट्टै बाँकी रहेको पक्की गर्ने भन्ने सहमति भएको थियो, केही दिन त काम भयो,’ उनले भने, ‘केही दिनपछि फेरि उस्तै झारा टार्ने काम ठेकेदार कम्पनीले गरेको छ, सडक डिभिजन र सडक विस्तार आयोजनाले जति चासो देखाउनुपर्ने हो देखाएनन्।’
पटक पटक थप भएको समयमा पनि काम पूरा नगरी ८० प्रतिशत काम बाँकी राख्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको सट्टा डिभिजन सडक कार्यालय र बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना निर्माण कम्पनीको म्याद थप गर्ने तयारीमा पुगेका छन्।
सार्वजनिक खरिद ऐनको बाह्रौं संशोधन भएपछि सोही व्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्याद थप्न सकिनेछ। यही आधारलाई टेकेर म्याद थप गर्न सकिने आयोजनाका कार्यालय प्रमुख दीपक झाले बताए।
उनले वर्षा सुुरु हुनुअघि नै ठूला खाल्डा पुर्ने र दोहोरो यातायात सञ्चालन गर्न सकिने गरी ग्राबेल र ग्रिडिङ गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताए।
‘हामीले पनि धेरैपटक निर्माण कम्पनीलाई ताकेता गरेका छौँ तर अनेक बहाना बनाएर काममा ढिलासुस्ती भएको छ,’ उनले भने, ‘अब ढिलासुस्ती हुँदैन, वर्षाअघि नै दुवै लेनमा गाडी चल्ने गरी सम्याएर पानी जम्मा नहुने गरी सहज बनाउने काम हुन्छ।’
उनले वर्षापछि मात्रै सडक पक्की गर्ने काम सुरु हुने बताए। ‘वर्षाको समयमा खानेपानीका पाइप, विद्युत्का पोल, सर्भिस लेनको काम, नालीको काम पूरा हुन्छ,’ उनले भने, ‘त्यसपछि पक्की सुरु हुन्छ।’
६ लेनको सडक निर्माण गर्ने गरी बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किमिका लागि २०७३ चैत १२ मा सम्झौता भएको थियो।
२०७६ असोजमा काम पूरा गर्ने गरी सम्झौता भए पनि स्थानीयका कारण २ वर्ष काम रोकिएको थियो। २०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि ०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो।
सो अवधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीको निवेदनअनुसार दोस्रो पटक म्याद थप भयो। २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो।
साढे तीन किमि सडक विस्तारको लागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँ कायम गर्ने सम्झौता भएको थियो।
ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ।