
२०७५ साउन २६ गते नवलपरासीकाे रामगराम-६ पोखरभिण्डीकी राधादेवी मल्लाहले रामग्रामकै मिनादेवी केवटसँग १ लाख ५० हजार रुपैयाँ सापटी लिइन्। केवटले धितो केही राख्न नपर्ने भन्दै त्यत्ति नै बेला फकाएर ३ लाखको तमसुक बनाएको मल्लाहले बताइन्। पैसा नपाएर आपत् परेको बेला सहजै पैसा पाएपछि नजिकैकी केवटलाई विश्वास गरेर मल्लाहले पैसा लिइन्।
मल्लाह अनुसार एक लाख पचास हजार दिएर तीन लाखको कागज गराएकी केवटले नपढेकी मल्लाहलाई झुक्काएर तीन लाखको ब्याज सुरु गरिन्। त्यत्तिमात्र होइन ब्याजलाई साँवामा जोडेर त्यसको पनि ब्याजको हिसाब निकाल्दै ६ महिनापछि २०७६ वैशाखमा बाह्र लाखको कागज बनाएको मल्लाहले बताइन्। केवट त्यतिमै रोकिइनन्। तमसुकको कागज घरमा सानो छोराले च्यातिदिएको बहाना बनाउँदै २०७६ मंसिरमा बाह्र लाखको अर्को तमसुक बनाएको मलाहको आरोप छ।
यसैबीचमा मल्लाहले पटकपटक विभिन्न समूहबाट निकालेर आफूले केवटलाई ३५ लाख रुपैयाँ दिइसकेको बताउँछिन्। मल्लाहले पैसा केवटको हातमा दिएको बताउँछिन्। विश्वासको भरमा बिनाकागज केवटलाई पैसा दिएको उनले बताइन्।

राधादेवी मल्लाह र मिनादेवी केवटबीच भएकाे कपाली तमसुक
तर मल्लाह तब छक्क परिन् जब केवटले उनलाई घरमा आएर २७ लाख रुपैयाँ दिनुपर्ने भन्दै धम्क्याउन थालिन्। मल्लाहका अनुसार केवटले पैसा नदिए छोराछोरी अपहरण गर्ने तथा जग्गा कब्जा गर्ने धम्की दिएकी छिन्।
केवटले सुरुको ३ लाख, त्यसको ६ महिनापछिको १२ लाखको तमसुक र छोराले च्यात्यो भनेर बनाएको अर्को तमसुक सबैको जोडेर मल्लाहसँग पैसा माग्न थालिन्। जबकी मल्लाहले पटक-पटक गरेर ३५ लाख रुपैयाँ बुझाइसकेको बताउँछिन्।
तर केवट भने यो सबै झुट रहेको बताउँछिन्। यो मुद्दा अदालतमा पनि गएको र मुद्दा आफूले जितेको तर उनीहरूले मलाई एक रुपैयाँ पनि नदिएको केवटले बताइन्। ‘मल्लाहले भनेको सबै झुटो हो मैले ३ पटक गरेर २७ लाख रुपैयाँ नै दिएको छु र एक रुपैयाँ फिर्ता पाएको छैन’, केवटले देशसञ्चारसँग भनिन्।
गाउँमा नजिकै घर भएकाले आफूले संगीतालाई दुईपटक गरेर २४ लाख र मल्लाहलाई तीनपटक गरेर २७ लाख रुपैयाँ नै दिएको उनको दाबी छ। ‘श्रीमान र भतिजोले कमाएको पैसा तिन प्रतिशत ब्याजको लोभमा मैले उनीहरूलाई घर बनाउनकाे लागि दिएको हो तर उनीहरूले पैसा फिर्ता नगर्ने मनसाय राखेका छन्’, उनले भनिन्।
मल्लाहसँग तीनवटा कपाली तमसुक छन्। २०७५ साउन २६ गते बनाएकाे ३ लाखकाे तमसुक छ जसमा २०७५ कात्तिक मसान्तसम्म तिरिसक्नु पर्ने उल्लेख छ। मल्लाह भन्छिन्, ‘मैले यति नै रकम तिर्नु पर्ने थियाे।’
केवटले अर्काे दुईवटा तमसुक बनाएकाे देखिन्छ। २०७५ साल मंसिर महिनाभित्र बुझाउने गरी २०७५ असार २० गते बनाएकाे १२ लाखकाे तमसुक र २०७६ वैशाखसम्म बुझाउने गरी २०७५ साउन महिनामा बनाएकाे १२ लाखकाे तमसुक।
…
२०७१ साल चैत १७ गते नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर २ घोडाहाका पारसनाथ गुप्ताले छोरीको बिहेका लागि सुनील शर्मासँग ३ लाख रुपैयाँ ऋण लिए।
बन्धकी केही नराखिकनै दिएको ऋणका लागि शर्माले ७ लाखको तमसुक बनाए। छोरीको बिहेका लागि पैसाका लागि भौँतारिएका गुप्ताले बैकले ऋणका लागि नपत्याएका बेला सहजै पैसा पाउने भएपछि सहमति जनाए।
गुप्ताले २०७५ सम्ममा पटकपटक गरेर ७ लाख ५० हजार शर्मालाई बुझाइसकेको बताउँछन्। एकदिन सबै ऋण सकियो भनेर बसेका गुप्ताको घरमा शर्मा ९ लाख बाँकी छ भन्दै पुगे।

पारसनाथ गुप्ता र सुनिल शर्माबीच भएकाे लेनदेनकाे हिसाब
जुन छोरीको बिहेको लागि ऋण लिएका थिए, गुप्ताले कोभिडका कारण छाेरी गुमाए। भर्खर छोरी गुमाएको पीडा र ऋण तिर्दा लागेको अर्को ऋणको जोहो गर्ने बेलामा शर्माकाे कुराले गुप्ता अलमलमा परे। पैसा फिर्ता गर्दा पक्का प्रमाण नरहेको फाइदा उठाउँदै शर्माले नौ लाख बाकी रहेको भन्दै गुप्तासँग साइन गराएर खालि चेक लिएर गए।
गुप्ता त तब अचम्ममा परे जब शर्माले त्यो चेकमा ६० लाख भरेर बाउन्स गराइदिए। चेक बाउन्सको मुद्दा जिल्ला अदालत परासीमा चलिरहेको छ। गुप्ताले पटक-पटक सल्लाह गर्न गाउँमा आउन आग्रह गर्दा शर्मा तर्किने गरेका छन्।
शर्माले अब ८० लाख तिर्नु भन्दै गुप्तालाई सताउन थालेका छन्। मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितका अध्यक्ष रामसुरत गुप्ताका अनुसार त्यो ठाउँमा नियम नै छ, तमसुक वा दृष्टिबन्धकमा दोब्बर पैसा राखेर बनाउने।
पारसनाथ गुप्ता भन्छन्, ‘ल ठिक छ सात लाख त तिरिएला जुन तिरिसके तर साढे ३ लाखको ४ वर्षमा कसरी ८० लाख हुन्छ र किन तिर्नु!’
…
प्रतापपुर ४ हरकपुरका सुफरुल्लाह मियाँले सात बर्षअघि सुनिल बानियाँ र जगदीश बानियाँसँग ६ लाख रुपैयाँ ऋण लिए। उनीहरुले दृष्टिबन्धक बनाउने भन्दै मियाँका अठार कठ्ठा जग्गाको चारवटा लालपुर्जा लिएर गए। मियाँले पटक पटक गरेर २२ लाख रुपैयाँ तिरे।
तर बानियाँ दाजुभाइले झुक्याएर आफ्नो जग्गा बेचिसकेको सुफरुल्लाहकी श्रीमती खुस्बु निसाले बताइन्।
त्यतिमात्र होइन उनीहरुले थप २३ लाख रुपैयाँ मागेका छन्। यही तनावले मियाँको गएको बैशाख ज्यान गएको श्रीमती निशा बताउँछिन्।

सुफरुल्लाह मियाँ सुनिल बानियाँ र जगदीश बानियाँसँग राखेकाे जग्गाकाे लालपुर्जा
उता प्रतापपुर गाउँपालिका घोडाहाकी गुलावीकुमारी घरिकारले सुनिल बानियाँसँग उखु लगाउन दृष्टिबन्धक गरेर २०७६ वैशाखमा ५० हजार सापटी लिइन्। केही समयपछि आफूले उखु खेतीबाट आएको पैसाले ऋण तिरिदिएको घरिकालले बताइन्। फेरि उनले उखुखेतीका लागि बानियाँसँगै ५० हजार लिइन्। तर यसपटक बानियाँले घरिकारबाट ब्याज जोड्दै ४ लाख रुपैयाँ फुत्काए। ५० हजार लिएकोमा आफूले ४ लाख तिरिसकेको घरिकार बताउँछिन्। उनका श्रीमान कामको सिलसिलामा बाहिर हुन्छन्। उनले जनता बैँकको चेकबाट तिरेको बताइन्।
बानियाँले घरिकारलाई धम्काउँदै थप ६ लाख रुपैयाँ मागिरहेको उनी बताउँछिन्। विश्वास छैन भन्दै खालि चेक मागिरहेको उनले बताइन्।
गुलावीकै आफन्त दिलमाया घरिकारले बानियाँसँगै श्रीमान विदेश जाने बेलामा १ लाख २० हजार रुपैयाँ मागिन्। बानियाँले उक्त रकम घरिकारलाई नदिएर श्रीमान विदेश पठाउने दलाललाई दिए।
विदेश जान भनी घरबाट हिँडेका उनका श्रीमानलाई बानियाँले नवलपरासीको बर्दघाटमा भेटेर झुक्याएर खाली काजगमा ल्याप्चे लगाउन लगाएको घरिकारले बताइन्। सुरुमा १२ लाख मागेका बानियाँले अहिले २५ लाख मागेर मुद्दा गरेको उनले बताइन्।
यी त केही उदाहरण मात्र हुन्। नवलपरासी रामग्राम आसपासका करिब ४५ घरपरिवार मिटर ब्याजीको चंगुलबाट बचाइदिन भन्दै काठमाडौँ आएका छन्। गौशाला पशुपति मन्दिरको पार्किङमा पाल टाँगेर बसेका उनीहरु करिव ८० जना छन्। हरेक दिन करिव पाँच जना थपिइरहेका छन्।
संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताका अनुसार रामग्राम आसपासका करिव ४५ जना मिटर ब्याजीको चंगुलमा अझ थुप्रै परिवार परेका छन्। उनका अनुसार रामग्राम क्षेत्रमा सुरेश बानियाँ, सुनिल बानियाँ, जगदिश बानियाँ, र सुजित बानियाँहरु मिटर ब्याज लगाउनेमा सक्रिय छन्।
लामो समयदेखि मिटर ब्याजीबाट पीडित भएका स्थानीयहरुले २०७८ देखि संघर्ष सुरु गरेका हुन्। स्थानीय इलाका प्रशासन कार्यालय, सिडियो कार्यालय, तथा जिल्ला प्रहरी कार्यालय कसैले सहयोग नगरेको उनीहरु बताउँछन्।
गएको जेठ अन्तिम साता यही समूह न्यायका लागि काठामाडौँ आएको थियो। उनीहरुले हृदयेश त्रिपाठी लगायतका नेतालाई भेटे तर कतैबाट केही सहयोग नपाएर अलमल परेका उनीहरुले केही युवाहरुको सहयोगमा असार १ गतेबाट माइतीघरमा आन्दोलन सुरु गरे।
१४ दिनपछि गृह मन्त्रालयले कानुनी प्रकृया अघि बढाउन जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएपछि उनीहरु नवलपरासी फर्किए। त्यहाँको प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिए। सुनिल र जगदीश पक्राउ परे । केहीले न्याय पाए तर धेरैको समस्या ज्युँ का त्युँ हुँदै सामान्य धरौटीमा उनीहरु छुटेको गुप्ता बताउँछन्।
रामग्राम नगरपालिकाका मेयर धनपद यादव जिल्लामा मिटर ब्याजीको गिरोह रहेको स्वीकार गर्छन्। गाउँमा बैंककोभन्दा बढी ब्याजमा पैसा लगाउने पहिलेदेखिकै चलन हो तर अहिले पछिल्लो समय यसले ठूलो रुप लिएको उनले बताए।
‘मैले पनि मिटर ब्याजी पीडितको बारेमा सुनेको छु तर मसँग समस्या लिएर कोही पनि आएको छैन’, उनले बताए। प्रमाण लिएर आए प्रहरी र प्रशासनसँग समन्वय गरेर काम गर्ने उनले बताए।
नवलपरासी गएका हृदयेश त्रिपाठी किसानको हाम्रो समस्यालाई नसुनेर मिटर ब्याजीलाई मात्र भटेर फर्किएको उनीहरुको आरोप छ। हामीलाई सहयोग गर्न आएका भनेको त एकैछिन बसेर मिलाउनुस् है भनेर निस्किएको गुप्ताले बताए।
भारतसँग जोडिएको नवलपरासीको रामग्राम र त्यस आसपासका ठाउँमा अशिक्षित नागरिकलाई पैसा मिटर ब्याजमा लगाउने र झुक्याएर गलत कागजमा साइन तथा औँठा छाप लगाएर साहुहरुले सताउने गरेको बताइन्छ।
त्यतिमात्र होइन मिटर ब्याजीहरुले झुक्याएर जग्गा नै बेचिदिने गरेका छन्।
बर्दघाट नगरपालिका १५ का जितबहादुर थापा मगरले हेमराज थापा क्षेत्रीसँग घर बनाउन २०७२ मा ७ लाख रुपैयाँ लिए। हेमराजले ब्याजको लोभमा ऋण दिएको भन्दै आश्वासन दिए र १७ कठ्ठा जग्लाको लालपुर्जा लिएर गए।

बायाँ पदमपाणि खरेल र दायाँ हेमराज थापा क्षेत्री
हेमराजले आफूलाई परासी मालपोतमा बोलाएर विभिन्न ठाउँमा सहीछाप गर्न लगाएको थापाले बताए। मालपाेतकाे काम नबुझेका उनले कर्मचारीले तपाईँले पैसा पाउनु भयाे भनेर साेधे, उनले पाएँ भनिदिए। उनका अनुसार मालपोतबाट सहीछाप गरेपछिको तीन वर्षसम्म उनले ब्याज तिरे। एकदिन गाउँमा मिटर ब्याजीले धेरैलाई फसाए भनेर हल्ला चल्यो। मेरो त सक्कली लालपुर्जा हातमै छ भनेर आरामले बसेका थापा तब अचम्ममा परे जब छिमेकीका दाइले लालपुर्जा हेरेर तेरो जग्गामा गडबड छ भने। मालपोत गएर हेर्दा थापा मालपोत गएर सहीछाप लगाएको भोलिपल्टै त्यो जग्गा हेमराज थापा क्षेत्रीले चितवनका पदमपाणि खरेललाई बेचिसकेका रहेछन्।
त्यसमा मालपाेतकाे कर्मचारीकाे पनि मिलेमताे भएकाे उनी मान्छन्। त्यसपछि हरेक दिन जसो आफुले हेमराजलाई फोन गर्ने गरेका बताउँछन्। जग्गा फिर्ता दिन्छु भनेर थुप्रै पटक भनेको तर कहिँ कतै नभटेको मगरले बताए। पैसा जम्मा गरेको छु आएर लैजाउ भन्दा पनि नआएको मगरले बताए।
मगर जस्तै समस्या लिएर आन्दोलन गर्न काठमाडौँ आएका नवलपरासीका स्थानीय यतिबेला हरेकदिन माइतीघर मण्डलामा भेटिन्छन्। उनीहरु भन्छन्, ‘यो सुदखोर विरुद्धको निर्णायक आन्दोलन हुनेछ।’