
बुटवल – बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं. १७ बाट नापजाँचको काम उद्घाटन गरे।
नापजाँचको काम सुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताए।
जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उनले आग्रह गरे।
बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम सुरु भएको उनले बताए।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे।
उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए।
कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताए।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे। नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताए।