
दमक-दमक नगरपालिका वडा नं-१० आसपासमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका लागि चीनीयाँ उच्च टोलीले विहिबार स्थलगत अवलोकन गरेको छ। चीनको ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङ नेतृत्वको टोलीले औद्योगिक पार्कको अवलोकन गरेको हो ।
दमक नगरपालिकाका अनुसार उक्त औद्योगिक पार्क निर्माणका लागि अवलोकन गर्ने अहिलेसम्मकै उच्चस्तरीय टोली हो । दमक नगरपालिका कार्यालयको सभाहलमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा लिउ रुपेङले नेपालमा औद्योगिक विकासका लागि चीन लगानी गर्न लागेको बताए । उनले भने, ‘यो आयोजनाले नेपाल र चीनको मित्रतालाई मात्र बढाउँदैन, यसले नेपालमा उद्योग र रोजगारीको सृजना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’
दमक नगरपालिका कार्यालयका अनुसार ३ खर्व ३३ अर्व रुपैयाँको चीनीयाँ लगानीमा उक्त पार्कको निर्माण हुन लागेको छ । पार्क निर्माणका लागि करीब २२ सय विगाह जग्गा चाहिने भएकाले जग्गा अधिग्रहण गर्न शुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने उक्त औद्योगिक पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बताए । उनले अहिले आएको उच्चस्तरीय टोलीले अध्ययन गरेर गइसकेपछि अन्तिम सहमतिमा हस्ताक्षर हुने बताए।
दमक नगरपालिका वडा नं १० मा २२ सय विगाह भन्दा बढी जग्गामा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका १६ सय विगाह जग्गा अधिग्रहणको क्रममा छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन तयारीको क्रममा रहेको बताइएको छ । उक्त परियोजनाको निर्माण चीनीयाँ सरकारले गर्ने दहालले बताए ।
उनले भने, ‘चीन सरकारले औद्योगिक पार्कको पूर्वाधार निर्माण र योजनाका लागि ३ खर्ब ३३ अर्ब रुपैयाँ छुट्याएको छ । करीब छदेखि सात महिनाभित्रमा शिलान्यास गरेर ति परियोजनाका काम सुरु गर्छौं ।’
तर विपक्षी नेपाली कांग्रेसका स्थानीय नेताहरुले उक्त परियोजनाहरुमा नेकपा एमालेका अध्यक्षको ओलीको चुनावी नारा जस्तो मात्र देखिएका कारण प्रशस्त शंका गर्ने ठाउँ रहेको बताएका छन् ।
नेपाली कांग्रेसका दमक सभापति रोशन विष्टले भने, ‘स्थानीय तहको निर्वाचनमा पनि केही चिनीयाँ मान्छे ल्याएर काम गरेको देखाइयो । अहिलेको निर्वाचनमा पनि त्यस्तै भयो । दमकबासीलाई बने हुन्थ्यो भन्ने छ । हामी विकास विरोधी होइनौं। हामीले सक्ने सहयोग गर्छौं ।’