
बुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ।
बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका सिलसिलामा शुक्रबार बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगरप्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यबारे बताए।
भेटवार्ताका क्रममा प्रमुख पाण्डेयले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा बुटवललाई आर्थिक केन्द्रको रूपमा स्थापित गर्ने योजनासाथ अगाडि बढेको बताए।
उनले औद्योगिक र पर्यटकीय हिसाबले पनि बुटवल अगाडि बढ्दै गरेकाले समग्र विकासका लागि सहकार्य गर्न प्रस्ताव गरे।
‘हामीले बुटवललाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्योग, कलकारखानाजस्ता क्षेत्रमा अग्रणी बनाउन चाहिरहेका छौँ,’ उनले भने, ‘त्यसका लागि बेलायतको तर्फबाट के–कसरी सहकार्य गर्न सम्भव हुन्छ, त्यसमा चासो दिन मेरो अनुरोध छ।’
उनले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भइसकेको र प्रदर्शनी स्थल निर्माण क्रममा रहेकाले पनि बुटवलले अन्तर्राष्ट्रिय स्तरका काम गर्न तयार भएको बताए।
नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने बेलायती मन्त्रीलाई बुटवलको जितगढी किल्ला र आसपासका पर्यटकीय स्थलको भ्रमण गर्न राजदूतावासकी विकास निर्देशक वर्डमार्फत निम्तो दिए।
नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरे।
उनले बेलायतको विकासबाट सिकेर बुटवलको विकासलाई अझै दिगो र लाभदायी बनाउनका लागि बेलायतको सहरसँग भगिनी सम्बन्ध कायम राख्न चाहेको र यसका लागि आवश्यक समन्वय र सहकार्य गर्नका लागि अनुरोध गरे।
भेटका क्रममा नेपालस्थित बेलायती राजदूतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलबारे जानेर आफूलाई खुसी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने बताइन्।
उनले स्थानीय सरकारसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेकाले बुटवललाई प्राथमिकतामा राख्ने र सहकार्यका लागि प्रयास गर्ने बताइन्।
निर्देशक वर्डले मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा बुटवलसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्यका लागि हात अघि बढाउने बताइन्।
उनले नेपालमा बेलायत सरकारले लामो समयदेखि सहकार्य गर्दै आएकाले आगामी दिनमा पनि सहकार्य गर्ने र त्यसमा बुटवललाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाइन्।
भेटका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युएनओपिएस प्रोजेक्ट कोहेरेन्स युनिटका टिम लिडर डुयेन जोन्स र बुटवल कार्यालयका प्रमुख सन्तोष खतिवडाले भेटवार्ताको सहजीकरण गरेका थिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख र निर्देशक वर्ड नेतृत्वको टोलीले शनिबार बिहान बुटवलस्थित जितगढी किल्लाको अवलोकन गर्ने कार्यक्रम छ।