फिल्म समीक्षा

प्रकाशः सानो सपनाको मार्मिक कथा

प्रकाशः सानो सपनाको मार्मिक कथा
+
-

२०६२-६३ को परिवर्तनपछि हतियार बिसाएर राष्ट्रिय राजनीतिमा आएको माओवादी होस् वा अन्य पार्टीका लागि मध्यपश्चिमको पहाडी जिल्लामा राजनीति गर्न सायद दुई प्रमुख एजेण्डा थिए। एउटा सुर्खेतदेखि कालिकाेट हुँदै जुम्ला जोड्ने कर्णाली राजमार्ग, अर्को थियो सामाजिक समानता। चाहे त्यो गाउँमै हुने असमानता हुन् वा त्यो क्षेत्रलाई केन्द्रले गर्ने असमानता।

‘जुन सामाजिक न्याय तथा समानता प्राप्तिका लागि हामीहरूले हतियार उठाएका थियौँ,’ माओवादीले भन्न छाडेको छैन।

सुर्खेत-जुम्ला रोड त जसोतसो बन्यो तर कर्णालीले भोगिरहेको असमानता २० को १९ भएको होला तर त्योभन्दा उँदोलाग्न सकेको छैन।

करिब १० वर्षको गृहयुद्धमा सिंहदरबारको नजरबाट टाढा र माओवादीको आश्रयको रूपमा रहेको पश्चिमी क्षेत्रले तुलनात्मक रुपमा धेरै गोलाबारुदको आवाज सुनेको छ। धेरैले ज्यान गुमाएका छन्। धेरै अझै बेपत्ता छन्।

तर, जे परिवर्तन गर्नका लागि उनीहरू लडेका थिए, परिवार गुमाएका थिए, घाइते भएका थिए। ती समस्या त्यहाँ ज्यूँका त्यूँ छन्। ‘प्रजा’लाई ‘राजा’ बनाउने भनेर गरेको संघर्ष टोलटोलका टाठाबाठालाई राजा बनाउन गरिएकोजस्तो नागरिकले अनुभूति गरिरहेका छन्।

हो, यही विषयवस्तुलाई टपक्क टिपेर विकास सुवेदीले कथा लेखेका छन् ‘प्रकाश’। जसलाई निर्देशक दिनेश राउतले पर्दामा उतारेका छन्।

चलचित्र प्रकाशले एउटा सानो गाउँको युवाको सानो सपनाको कथा देखाउँछ। सपना धेरै ठूलो होइन- शिक्षक बन्नु छ, गाउँकै स्कूलमा पढाउनु छ। पारिवारिक अवस्था, सामाजिक चेतना र गाउँको राजनीति कसरी उसको सपनाको बाधक बन्छन् भन्ने फिल्ममा देख्न सकिन्छ। फिल्मले त्यतिमात्र देखाउँदैन वा भनौँ बोल्दैन।

माओवादीमा लागेका सूर्यबहादुर रोकाया जनयुद्धताका बेपत्ता भए। सीताले छोरो प्रकाशलाई एक्लै हुर्काइन्। गोठालो जाँदै पढेका प्रकाशको पढाइ राम्रो छ। उनको एउटै इच्छा छ- शिक्षक बन्ने।

फिल्ममा नखुलाइए पनि कथा २०७० देखि २०७४ ताकाको जस्तो लाग्छ।

सीता र प्रकाश गाउँका जमिनदार इन्द्रप्रसादको खेतमा काम गरिहेका छन्। खेत जाेत्दै गरेका प्रकाशको शीर माथिबाट उडेको हवाइजहाज खलंगा उत्रन्छ। जोत्न छोडेर उनी खलंगातिर दौडन्छन्। जहाजले शिक्षक बन्ने उनको सपनाको एउटा खुड्किलो बोकेर ल्याएको छ। उनी जिल्ला शिक्षा कार्यालय पुग्छन् र सूचना पाटीमा टाँसेको लिस्टमा आफ्नो नाम देख्छन्। उनी शिक्षक लाइसन्स पास हुन्छन्।

यो चलचित्रको सुरुको दृश्य हो। सुरुको दृश्यजस्तै चलचित्रको कथा अन्तिमसम्मै सरल रूपमा अघि बढेको छ।

फिल्ममा मसला छैन। भारीभर्कम संवाद छैनन्। सरल र बिम्बात्मक रुपमा फिल्ममा वर्गीय, जातीय उत्पीडन र गाउँघरमा त्यसैमाथि हुने राजनीति निर्देशक रावतले गज्जबसँग पर्दामा उतारेका छन्।

इन्द्रप्रसाद सूर्यबहादुरका छोरा प्रकाशलाई पनि आफ्नो हली नै बनाउन चाहन्छन्। सूर्यबहादुर समाजको यही अवस्था परिवर्तन गर्न भनेर नै जनयुद्धमा हिँडेका थिए। पञ्चायती व्यवस्थाका पक्षधर इन्द्रप्रसाद दैलोमा टाँसेको राजारानीको फोटो हटाएर कमरेड बन्छन्। पार्टीको आमसभाका लागि विद्यालय र विद्यार्थीको प्रयोग, आफूले भनेकोजस्तो नगरेका प्रधानाध्यापकलाई सरुवा गराउने दृश्यले गाउँघरमा हुने राजनीति झल्काउँछ।

आरन चलाउनेकी छोरी राधा समाज आफ्नो मायाको यो पर्खालजस्तै गरी बाधक बनेको भन्दै प्रकाश र आफूबीचकाे ढुङ्गाकाे पर्खाल देखाउँछिन्। प्रकाशले पर्खालको एउटा ढुङ्गा उठाएर ‘यो भत्काउने प्रयास म सुरु गर्छु’ भन्नु शिक्षाले युवा पुस्तामा आउँदै गरेको चेतना देखाउँछ।

बैशाखी टेकेर हिँड्ने प्रकाशका काकाले जनयुद्धको घाउ बोकेका छन्। जाे समाजमा निरीह छ। जनयुद्धमा बेपत्ता भएका श्रीमान् फर्किएर आउँछन् कि भनेर आशामा बसेकी सीतालाई अन्तिम संस्कार गर्न लगाउने र सरकारबाट पाएको राहात हत्याएर चुनावमा खर्च गर्ने इन्द्रप्रसाद र उनका ज्वाइँको चरित्रले गरिब र निमुखामाथि गरिने राजनीतिको गजबको चित्रण गरेको छ।

इन्द्रप्रसादलाई राजाको फोटो हटाएर माओवादीमा लाग्न प्रेरित गर्ने होस् वा प्रकाशलाई शिक्षक बनाइदिन्छु भन्दै सीतासँग एक लाख रुपैयाँ लिएर चुनावका लागि खर्च गर्ने इन्द्रप्रसादका ज्वाइँको चरित्रले राजनीतिक पात्रको उम्दा प्रतिनिधित्व गरेको छ।

प्रकाशको भूमिकामा प्रदिप खड्का मस्त डुबेका छन्। यसअघि चकलेटी भूमिकामा देखिएका ‘मेथड’ अभिनयमा सायदै कसैले विश्वास गरेका प्रदिपको अभिनय सम्झनलायक छ। थोरै संवादमा पनि उनको भूमिकाले धेरै कुरा बोलेको छ। विद्यालयमा इन्द्रबहादुर थप्पड हान्दाको उनको ‘एक्प्रेसन’ होस् वा आमासँग घरमा बहस हुँदाको उनको ‘डायलग डेलिभेरी’ले गहिरो अनुभूति दिन्छ। प्रेमिका राधासँगको संवाद गजबका छन्।

थप्पड खाइसकेपछि डिलमा बसेर गरेको दुईबीचको सम्वाद होस् वा पर्खाल वारीपारी बसेर गरेका संवाद हुन्। शिक्षक लाइसन्समा पास हुँदा उनको एक्प्रेसन र आमाको मृत्यु हुँदा उनको अभिनय अलिकति बढी भएको अनुभव हुन्छ। जे होस् प्रदीपले आफूलाई जुम्ली युवामा ढाल्न भरपुर प्रयास गरेका छन्।

जुम्ली महिला ‘सीता’को भूमिकामा दिया मास्केको अभिनय जोडदार छ। दिया ‘मेथड’ एक्टिङमा अब्बल मानिन्छिन्, जुन उनले यो फिल्ममा पनि प्रमाणित गरेकी छन्। द्वन्द्वमा श्रीमान् गुमाएकी अशिक्षित सीताले छोरा प्रकाशलाई एक्लै हुर्काउछिन् र पढाउँछिन्। त्यतिमात्र होइन, सबैतिरबाट आजित भएर शिक्षक बन्ने सपना त्याग्ने भन्दै फालेको सर्टिफिकेट उठाउँदै ‘यही दिन देख्नलाई तलाई हुर्काएको हुँ?’ भन्दा उनले निभाएकाे सशक्त महिलाको भूमिका चित्रण हुन्छ।

गाउँमा अशिक्षित, गरिब र निमुखाहरुलाई दबाएर राख्ने र उनीहरूको नाममा राजनीति गर्ने तानाशाही र अवसरवादी पात्र इन्द्रप्रसादको भूमिकामा प्रकाश घिमिरे खरो उत्रेका छन्। त्यस्तै, उनलाई हरेक निर्णयमा सुझाव दिने ज्वाइँ बनेका राजन खतिवडाको भूमिकाले एक कुटील राजनीतिक पात्रको सम्झना गराउँछ। उनको सटिक भूमिकाले कहीँकहीँ कथामा ‘टुइस्ट’ ल्याएको छ। आरन चलाउनेकी छोरी र प्रकाशकी प्रेमिका राधाको भूमिकामा रेनु योगीकाे अभिनयमा निखारता छ।

नेपाली फिल्मको सबैभन्दा कमजोर पक्ष कथा र त्यो कथालाई भन्ने र देखाउने तरिका ‘स्किृन प्ले’ हो। संवादभन्दा दृश्य र एक्प्रेसनबाट कथा भन्ने निर्देशककाे शैली गज्जबकाे छ। सम्वाद र विषयवस्तुमा ख्याल राखेका निर्देशक राउत कहीँकतै चुकेका छन्।

सीता इन्द्रप्रसादको घरमा पैसा माग्न जाँदा चुनावमा सबै सकियो भन्नु र केही दृश्यपछि फेरि चुनावको प्रचार सुरु हुँदा अस्वभाविक लाग्छ। विद्यालय व्यवस्थापन समितिको चुनाव मानौँ भने त्यो दृश्य वा संवादमा प्रस्ट भएको छैन। फिल्ममा मुख्य पात्र प्रकाशको शिक्षक बन्ने सपनासँगै अन्य थुप्रै कहानी छन्, जसले फरक-फरक विषयवस्तु बोल्छन्। गाउँमा हुने वर्गीय, जातीय, आर्थिक, राजनीतिक यी सबै समस्या देखाउन खोज्दा फिल्म भारी भएको छ। एउटा कुनै विषय मात्र उठाएर बनाएको भए फिल्मको सन्देश प्रस्ट हुन्थ्यो।

राजेश श्रेष्ठले फिल्म गज्जबसँग खिचेका छन्। तर, कतैकतै नेचुरल देखाउन खोज्दा चुकेका छन्। स्कुल जान थालेकी राधालाई देखेर गोठाला गएका प्रकाश कुदेर जान्छन्। कुरा गर्दै उनीहरू रुखको छहारी पुग्छन्, जहाँ एन्टिलाइटले उनीहरूको अनुहार राम्रोसँग देखिँदैन तर पछाडिको पहाड टल्किरहेको हुन्छ। हेर्दा सामान्य लागे पनि यसले फिल्मका लागि सायद ठूलो महत्व राख्छ।

फिल्ममा संगीतको प्रयोग निकै कम भएको छ। वरपरको रियल साउण्डको प्रयोग भएको छ, जसले फिल्मलाई अब्बल बनाएको छ। कहीँकतै त्यो ध्वनी कर्कस सुनिन्छ। बीचबीचमा हुने आकाश गड्याङगुडुङको साउण्ड इफेक्टको रूपमा प्रयोग भएको छ। राम्रो सुनिन्छ तर अश्वभाविक लाग्छ। किनभने फिल्ममा कहीँकतै पानी परेको दृश्य छैन, न त त्यो अनुभव नै भएको छ।

फिल्मका हरेक पात्रले आफूलाई जुम्ली परिवेश र भाषामा जुम्ली टोन ल्याउन भरपुर प्रयास गरेका छन्। कहीँकतै पर्फेक्ट सुनिँदैन तर जब कथा र त्यसको सन्देश सशक्त हुन्छ अरु कुरा गौण भइदिन्छन्।

प्रकाश एक पात्र हो, जसले त्यहाँका युवाकाे प्रतिनिधित्व गर्छ। प्रकाशले त्याे अवस्था र घटना टिपेकाे छ, जुन जुम्ला र त्याे आसपासका मानिसहरूले भाेगेका थिए र छन्।

लगभग फिल्मभरि नै बलिरहने प्रकाशको सिरानीमाथिको टुकी तल ‘Prakash’ लेखेर बनाएको सूर्य र झ्यालबाट आउने जुनको उज्यालोले मुख्य पात्र प्रकाशको आशा र आत्मविश्वासमा प्रकाश थपिरहेको अनुभूति हुन्छ।

प्रकाशजस्तै आशा र आत्मविश्वास त्यस भेगका थुप्रै ‘प्रकाश’हरुले बाेकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?